सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आमसर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष ०८२/८३ मा सातवाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । 

बैंकको कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बागमती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका नाै तथा सुदूरपश्चिम प्रदेशका १० शाखाहरूमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरूको आयोजना गरी करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । 

कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वबारे विस्तृत प्रकाश पारिएको छ । यससँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमबारे समेत जानकारी गराइएको छ । 

नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्नसमेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । आफ्ना शाखा कार्यालयहरूमार्फत बैंकले विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्रलगायत विभिन्न संघसंस्थालाई सहयोग प्रदान गरेको हो । जसअन्तर्गत बैंकको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका– ४ मा अवस्थित हिमज्योति माध्यमिक विद्यालयका बालविकास देखि कक्षा आठसम्मका १९६ गरिब तथा जेहेनदार बालबालिकालाई विद्यालय पोसाक तथा न्यानो स्वीटर उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । 

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । 

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनसमेत ल्याएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूबाट २० लाख ४५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।  

सुझावित समाचार