चैनपुर नगरपालिकामा बेतिथि र अनियमितता बढेको भन्दै नागरिक समाजद्वारा छानबिनको माग

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

संखुवासभाको चैनपुर नगरपालिकामा अनियमितता, बेतिथि र भ्रष्टाचार बढेको भन्दै नागरिक समाजले छानबिनको माग गरेको छ । बुधबार चैनपुर नगरपालिका पुगेका नागरिक समाज र चैनपुर नगरपालिकाबिच शान्तिपूर्ण वातावरणमा छलफल गरिएको थियो।

इलाका प्रशासन कार्यालय चैनपुरका प्रमुख दिनेश बस्नेतको संयोजकत्वमा सशस्त्र प्रहरी अरुण गुल्मका गुल्मपति, इलाका प्रहरी कार्यालयका प्रमुख, नागरिक समाज, चैनपुर नगरपालिकाका नगरप्रमुख कृष्णकुमार तामाङ र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेलगायतको उपस्थितिमा शान्तिपूर्ण रूपमा छलफल भएको हो ।

 उक्त छलफलपछि इलाका प्रशासन कार्यालय चैनपुरका प्रमुख दिनेश बस्नेतले प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनको आधारमा नगरभित्रका अनियमितता, बेतिथि र भ्रष्टाचारका विषयमा कारबाही प्रक्रिया अगाडि बढ्ने सहमति गरिएको नागरिक समाजका प्रतिनिधि होमनाथ सापकोटाले बताए। उनले जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदनउपर छलफल, अनुसन्धान गरी कारबाही प्रक्रिया बढाउनुपर्ने माग गरे। 

गत ०८३ असार १७ गते चैनपुर नगरपालिकामा अनियमितता, बेतिथि र भ्रष्टाचार बढेको भन्दै नागरिक समाजले १४ बुँदे निवेदन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई बुझाएका थिए । सो निवेदनबमोजिम नै प्रजिअ अर्यालले इलाका प्रशासन कार्यालय चैनपुरका प्रमुख बस्नेतलाई छलफल गरी प्रतिवेदन बुझाउन अनुरोध गरेको बताइएको छ । 

उक्त नागरिक समाजको टोलीले बुधबार चैनपुर नगरपालिकामा तालाबन्दी र घेराउ गर्न पुगेका थिए, तर उनीहरूलाई शान्तिपूर्ण र सौहार्द तरिकाबाट छलफल गरौं भन्ने नगर प्रमुख कृष्णकुमार तामाङले प्रस्ताव गरेपछि छलफलमा बसेको नागरिक समाजको भनाइ छ । सुमन डाँगी र होमनाथ सापकोटलगायतका करिब ३५–४० जना युवा तथा नागरिक समाजका व्यक्तित्वहरूले दिउँसो करिब साढे १२ बजेतिर चैनपुर नगरपालिकाका पुगेका थिए । 

जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदन नागरिक समाजले विशेष गरी उखु पेल्ने मेसिन खरिद गर्दा एक लाख ६५ हजार पर्ने मेसिनलाई दुई लाख ८३ हजार रुपैयाँमा खरिद गरेको, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले कानुनविपरीत ५० प्रतिशत प्रोत्साहन भत्ता लिने गरेको, मिलेमतोमा राज्यकोष दोहन गरेको, ठाडो आदेशमा जागिर खुवाएको, गैरकानुनी रूपमा इन्धन गाडीको खर्च गरेको, कानुनविपरीत आवास सुविधा लिने गरेको र वर्षको ३६५ दिनमा २४ लाख चार हजार पाँच ७२ रुपैया अनियमित ढंगले खर्च गरेकोलगायतका १४ वटा बुँदामा आरोपसहितका निवेदन पेस गरेका छन्।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले कानुनसम्मत काम गरेको बताउँदै कानुबाहिर गएर गरेको भए कारबाही भोग्न तयार रहेको बताए । उनले चैनपुर नगरपालिकामा आफूभन्दा अगाडिका प्रमुख प्रशासकीय अधिकृतहरूले ५० प्रतिशत प्रोत्साहन भत्ता खाइरहेको र आफू आएपछि खाएको बताए ।  जिल्लाका अन्य स्थानीय तहहरूमा समेत प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरूले प्रोत्साहन भत्ता खाने गरेको न्यौपानेको भनाइ छ । 
 

सुझावित समाचार