बजार घटेपछि लगानीकर्ताले घटाए सेयर कर्जा

११ महिनामा २२ अर्ब १७ करोडले बढ्यो कर्जा

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

सेयरबजार उत्साहजनक नदेखिएपछि लगानीकर्ताले बैंक तथा तथा वित्तीय संस्थाबाट मार्जिन कर्जा लिन पनि कम गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठमा सेयर कर्जा ३३ करोड ४० लाख रुपैयाँले मात्रै विस्तार भएको छ । जेठमा भएको कर्जा विस्तार अघिल्लो महिना वैशाख र चैतको तुलनामा कम हो ।

मार्जिन प्रकृतिको कर्जाको बक्यौता अर्थात् आउटस्ट्यान्डिङको आधार यस्तो आँकडा देखिएको हो । वैशाख मसान्तसम्म मार्जिन प्रकृतिको कुल कर्जा एक खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ थियो । जेठ मसान्तसम्म आउँदा त्यो एक खर्ब ६२ अर्ब ८७ करोड ४० लाख रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार चैतमा तीन अर्ब २० करोड ९० लाख र वैशाखमा तीन अर्ब पाँच करोड २० लाख रुपैयाँले मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयर धितो कर्जा विस्तार भएको थियो । तर, जेठमा भने त्यो ३३ करोड ४० लाख रुपैयाँमा विस्तार भएको छ ।

समीक्षा महिनामा वाणिज्य बैंकबाट प्रवाह हुने सेयर कर्जा १४ करोड ४० लाख रुपैयाँले बढेको छ । वैशाखसम्म एक खर्ब ३९ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको वाणिज्य बैंकको सेयर कर्जा जेठ मसान्तसम्म आउँदा एक खर्ब ३९ अर्ब ७६ करोड ९० लाख रुपैयाँ पुगेको छ । विकास बैंकमा भने यस्तो कर्जा विस्तार घटेको छ । गत वैशाख मसान्तसम्म १९ अर्ब ६५ करोड रहेको विकास बैंकको सेयर कर्जा जेठमा सात करोड ९० लाख रुपैयाँले घटेर १९ अर्ब ५७ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

वित्त कम्पनीको सेयर कर्जा विस्तार भने २७ करोड रुपैयाँले बढेको छ । वित्त कम्पनीले गत वैशाख मसान्तसम्म कुल तीन अर्ब २६ करोड ४० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । जेठ मसान्तसम्म आउँदा त्यो तीन अर्ब ५३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

ऋण लिएर लगानी गर्दा ब्याज तिर्न पुग्ने पनि प्रतिफल नआउने डर लगानीकर्तामा देखिएको छ । सोहीकारण बैंक तथा वित्तीय संस्थामा मार्जिन कर्जाको माग घटेको बैंकरहरू बताउँछन् । सामान्यतः बैंकले निक्षेपमा दिने ब्याजदर बढ्दा सेयरबजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने पनि हुन्छ । किनकि, ब्याजदर बढ्दा लगानी निक्षेपमा आकर्षण हुन्छ । ब्याजदर घटेको अवस्थामा लगानी निक्षेपमा सेयरबजारमा आकर्षित हुन्छ । अहिले बैंकले दिने ब्याजदर एकदमै न्यून छ । तर, निक्षेपमा लगानी गर्नेले सेयरबजारमा लगानी बढाउन सकेका छैनन् ।

११ महिनामा २२ अर्ब १७ करोडले बढ्यो कर्जा 
चालू आवको ११ महिनामा सेयर धितो कर्जा २२ अर्ब १७ करोड २० लाख रुपैयाँले बढेको छ । गत असार मसान्तमा यस्तो कर्जा कुल एक खर्ब ४० अर्ब ७० करोड २० लाख रुपैयाँ थियो । चालू आवको पहिलो महिना साउनमा तीन अर्ब ८३ करोड ३० लाख र भदौमा एक अर्ब सात करोड ४० लाख रुपैयाँले बढेको सेयर कर्जा असोजमा ६५ करोड ९० लाख रुपैयाँले घटेको छ । त्यसपछि कात्तिकमा एक अर्ब २७ करोड ५० लाख, मंसिरमा दुई अर्ब ५६ करोड ३० लाख र पुसमा चार अर्ब तीन करोड ५० लाख रुपैयाँले कर्जा बढेको थियो । त्यसपछि माघमा तीन अर्ब ३३ करोड ३२ लाख, फागुनमा १२ करोड ४० लाख, चैतमा तीन अर्ब २० करोड नौ लाख, वैशाखमा तीन अर्ब पाँच करोड २० लाख र जेठमा ३३ करोड ४० लाख रुपैयाँले बढेको छ । यसरी जेठ मसान्तसम्म आउँदा यस्तो कर्जा एक खर्ब ६२ अर्ब ८७ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।

गत आवको ११ महिनामा भने यस्तो कर्जा प्रवाह ३८ अर्ब ५६ करोड ७० लाख रुपैयाँले बढेको थियो । ०८१ असारसम्म यस्तो कर्जा प्रवाह ९० अर्ब नौ करोड ३० लाख थियो । जेठ ०८२ सम्म आउँदा त्यो एक खर्ब २८ अर्ब ६६ करोड रुपैयाँ पुगेको थियो । गत आवमा भने यस्तो कर्जा प्रवाह ५० अर्ब ६० करोड ९० लाख रुपैयाँले बढेको थियो । गत आवको असार मसान्तसम्म यस्तो कर्जा कुल एक खर्ब ४० अर्ब ७० करोड दुई लाख रुपैयाँ पुगेको थियो ।
 

सुझावित समाचार