नेपाल भलिबल लिग (एनभिएल)को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
बुधबार एक कार्यक्रमबिच सुमिरा स्पोर्टस् भेन्वरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स र स्टार आउटसाइड हिटर उषा भण्डारीबिच तीन वर्षका लागि सम्झौता भएको हो।
सम्झौताअनुसार भण्डारीले टोलीको प्रचार–प्रसार तथा प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुनुका साथै अन्नपूर्ण स्पाइकर किङ्ससँग मिलेर नेपाली भलिबलको ग्रासरुट विकासमा पनि भूमिका निर्वाह गर्नेछिन्।
टोलीका सह–मालिक सुबोध त्रिपाठीले भण्डारीसँगको सहकार्यले पुरुष भलिबलको फ्रेन्चाइज लिगलाई थप लोकप्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। दर्शकलाई कभर्ड हलसम्म आकर्षित गर्न र ग्रासरुटबाट भलिबलको विकासमा टेवा पुर्याउने उद्देश्यले उनलाई ब्रान्ड एम्बासडर बनाइएको उनले बताए।
उषा पहिलोपटक भलिबलकै फ्रेन्चाइज टोलीको ब्रान्ड एम्बासडर बनेकी हुन्। घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी भण्डारीले माल्दिभ्सका विभिन्न क्लबबाट पनि व्यावसायिक भलिबल खेलिसकेकी छिन्। सन् २०१९ मा १४ वर्षको उमेरमै १३औँ दक्षिण एसियाली खेलकुद (साग)बाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्।
केडिया ग्रुपको आयोजनामा पहिलोपटक सञ्चालन हुन लागेको नेपाल भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ।