घरायसी विवादका क्रममा भएको कुटपिटपछि एकजनाको मृत्यु, दुईजना पक्राउ

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय खोटाङले साकेला गाउँपालिका– ४, पारुङमा घरायसी विवादका क्रममा भएको कुटपिटपछि एकजनाको मृत्यु भएको घटनामा दुईजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार असार २९ गते राति करिब ८ बजे ४८ वर्षीय इमानसिंह राई, उनका भाइ करिब ३५ वर्षीय ओइमानसिंह राई तथा करिब ३० वर्षीय जीवन राई (टीकाबहादुर राई) मादक पदार्थ सेवनपछि घरायसी विवादमा संलग्न भएका थिए। विवादका क्रममा ओइमानसिंह राईमाथि धारिलो हतियारले टाउको र पेटमा प्रहार गरिएको थियो।

गम्भीर घाइते भएका ओइमानसिंह राईलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको भए पनि असार ३० गते बिहान करिब २ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा इमानसिंह राई र जीवन राई (टीकाबहादुर राई) लाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी खोटाङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक नीराजन बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सुझावित समाचार