पुरानै निर्माणमा टेकेर बजेट ल्याउने तयारीमा भेरी नगरपालिका

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

बजेट अधिवेशन सुरु भएको झन्डै तीन सातापछि भेरी नगरपालिका अन्ततः पुरानै सहमतिका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने अन्तिम तयारीमा पुगेको छ। सोमबार सम्पन्न कार्यपालिकाको १२औँ बैठकले बजेटका बाँकी विषय टुंग्याउँदै मंगलबार नगरसभा बैठकमार्फत बजेट प्रस्तुत गर्ने वातावरण बनेको नगरपालिकाले जनाएको छ।

भेरी नगरपालिकाले असार १० गते १६औँ नगरसभाको बजेट अधिवेशन सुरु गरे पनि जनप्रतिनिधिबिच देखिएको मतभेदका कारण बजेट पारित हुन सकेको थिएन। अधिवेशन सुरु भएकै दिन स्रोत तथा बजेट सीमा निर्धारण समितिले तय गरेको मापदण्डलाई लिएर विवाद चर्किएपछि नगरसभा स्थगित भएको थियो।

विवादको केन्द्रमा योजना छनोटको सीमा थियो। स्रोत तथा बजेट सीमा निर्धारण समितिले पूर्वाधारतर्फ न्यूनतम तीन लाख रुपैयाँ र मर्मत–सम्भारतर्फ एक लाख रुपैयाँभन्दा कमका योजना नराख्ने निर्णय गरेको थियो। तर, केही जनप्रतिनिधिले २५ हजार रुपैयाँसम्मका साना योजनासमेत समेटेर वितरणमुखी बजेट ल्याउनुपर्ने अडान लिएपछि सहमति जुट्न सकेन।

नगर उपप्रमुख सीता जैसीले आफ्ना माग सम्बोधन नभएसम्म बजेट अधिवेशनमा सहभागी नहुने अडान लिएपछि बहुमत सदस्यसहित नगरसभा बहिष्कार भएको थियो। त्यसपछि नगरप्रमुख चन्द्रप्रकाश घर्तीले उद्घाटन सत्र सञ्चालन गरी नगरसभा स्थगित गरेका थिए।

नगरप्रमुख घर्तीका अनुसार त्यसयता निरन्तर छलफल हुँदै आएको र अहिले अधिकांश विवाद समाधान भइसकेका छन्। ‘विषयगत समितिबाट आएका योजनाहरू टुंगिएका छन्। स्रोत समितिले निर्धारण गरेको सीमाभन्दा बाहिर आएका योजनालाई सच्याएर अन्तिम रूप दिने काम भइरहेको छ,’ उनले भने।

उनका अनुसार अहिले पूर्वाधारतर्फ तीन लाख रुपैयाँभन्दा माथिका योजना, मर्मत–सम्भारतर्फ एक लाख रुपैयाँभन्दा माथिका योजना तथा लक्षित वर्गका कार्यक्रम आवश्यकतअनुसार विनियोजन गर्ने सहमतिमा जनप्रतिनिधिहरू पुगेका छन्। यही आधारमा बजेट प्रस्तुत गर्ने तयारी गरिएको उनले जानकारी दिए।

यसअघि नगरप्रमुख र उपप्रमुखबिच यही विषयमा लिखित सहमति भएको भए पनि केही जनप्रतिनिधिको असहमतिपछि उक्त सहमति कार्यान्वयन हुन सकेको थिएन। अहिले भने पुरानै सहमतिलाई आधार बनाएर बजेट ल्याउने वातावरण बनेको नगरपालिकाका स्रोतले बताएका छन्।

स्थानीय तहले कानुनले तोकेको समयमै बजेट ल्याउन नसक्दा नगरपालिकाको कार्यसम्पादन, विकास निर्माण र सेवा प्रवाह प्रभावित हुने भन्दै नागरिकस्तरबाट पनि आलोचना भइरहेको थियो। बजेट ढिलाइ हुँदा आगामी आर्थिक वर्षका विकास योजना प्रभावित हुने, ठेक्का प्रक्रिया ढिलो हुने तथा सेवा प्रवाहमा असर पर्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। स्थानीय नागरिकहरूले जनप्रतिनिधिहरूले व्यक्तिगत वा राजनीतिक अडानभन्दा जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।

उनीहरूको भनाइ छ, ‘जनताले विकास, सेवा र सुशासनका लागि जनप्रतिनिधि चुनेका हुन्। बजेटजस्तो संवेदनशील विषयमा लामो समयसम्म विवाद गर्नु जनताको अपेक्षाविपरीत हो। मतभेद हुनु स्वाभाविक भए पनि त्यसको समाधान संवादबाट खोजिनुपर्छ।’ उनीहरूले विकास बजेटलाई वितरणमुखीभन्दा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै आवश्यकताका आधारमा योजना छनोट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

लामो समयदेखिको विवाद, बहिष्कार र चौतर्फी आलोचनापछि भेरी नगरपालिका अन्ततः पुरानै निर्माणमा टेकेर बजेट ल्याउने अन्तिम तयारीमा पुगेको छ। अब मंगलबार बस्ने नगरसभाले बजेट पारित गरेसँगै लामो समयदेखि रोकिएको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।

See More On

सुझावित समाचार