धादिङ ‘पूर्ण खोप सुनिश्चित’ जिल्ला

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो। 

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन (स्रोतव्यक्ति) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । उनले प्रमाणपत्र हस्तान्तरण गर्दै खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको बलियो आधार तयार गरेको बताए। 

स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाका सबै पालिकामा गरिएको सर्वेक्षणमा खोप लगाउन कोही पनि नछुटेको पाइएपछि यो घोषणा गरिएको हो। जिल्लाका जन्मेदेखि १५ महिनासम्मका ३ हजार ७२४ बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३३४ बालबालिकाले सबै आवश्यक खोप पूर्ण रूपमा पाएका छन्।

पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान पुर्याउने जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सरोकारवाला निकाय तथा अग्रपंक्तिमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रममा सम्मान गरिएको छ।

सुझावित समाचार