बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता गरिँदै

पहिलो चरणमा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म भुक्तानी गरिने

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया मंगलबारदेखि औपचारिक रूपमा सुरु गर्ने भएको छ। लामो समयदेखि आफ्नो बचत फिर्ता नपाएर समस्यामा परेका सर्वसाधारणलाई राहत दिने उद्देश्यले पहिलो चरणमा प्रतिव्यक्ति अधिकतम एक लाख रुपैयाँसम्म बचत रकम फिर्ता गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबारदेखि बचत फिर्ता अभियान सुरु गरेको जनाएको छ । जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता कार्यक्रमको औपचारिक शुभारम्भ गर्नेछन् ।

समितिका अनुसार हालसम्म समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका साना बचतकर्तालाई पहिलो प्राथमिकतामा राखेर रकम फिर्ता गर्न लागिएको हो। यसअन्तर्गत काठमाडौंको सोल्टीमोडस्थित सिभिल बचत तथा ऋण सहकारी संस्था, कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था, पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था, सामाखुसीस्थित नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था तथा खुसिबुस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता पाउनेछन् ।

समितिले पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिँदै प्रतिबचतकर्ता अधिकतम एक लाख रुपैयाँसम्म भुक्तानी गर्ने व्यवस्था गरेको जनाएको छ । यसबाट लामो समयदेखि बचत फिर्ता नपाएर आर्थिक संकट झेलिरहेका हजारौँ बचतकर्ताले आंशिक राहत पाउने अपेक्षा गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सूचना अधिकारी सुवास उप्रेतीका अनुसार प्रदेश सरकारले सहकारीपीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । उनले पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता सुरु गरिएको र आगामी चरणमा अन्य बचतकर्ताको रकम फिर्ताका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

बागमती प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ बनाउँदै बचतकर्ताको हित संरक्षणमा केन्द्रित भएर काम गरिरहेको जनाएको छ ।

See More On

सुझावित समाचार