राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला संग्रौलाले मिडियाको कार्यालयअगाडि गाडी तेर्स्याइएको घटनामा सरकार वा राज्यलाई जोडेर अभिव्यक्ति दिनु अनुचित भएको बताएकी छिन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै संग्रौलाले विपक्षी सांसदहरूले घटनालाई लिएर सिंगाे राज्यमाथि आरोप लगाएको भन्दै नियमापत्ति जनाइन्। उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ को घ र ङ उल्लेख गर्दै राज्यको नैतिकता र शिष्टाचारविपरीत हुने शब्द प्रयोग गरिएकोमा आपत्ति व्यक्त गरिन्।
उनले कुनै एक व्यक्तिको गतिविधिका आधारमा सिंगाे राज्यलाई दोष दिन नमिल्ने बताउँदै यदि राज्य नै परिचालित भएको दाबी गरिएको हो भने त्यसको प्रमाण सदनमा प्रस्तुत गर्नुपर्ने धारणा राखिन्।
संग्रौलाले राज्य यस विषयमा संवेदनशील रहेको र संदिग्ध व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइने स्पष्ट गरिसकेको उल्लेख गर्दै आधारहीन आरोप लगाएर सर्वसाधारणलाई भ्रमित नपार्न विपक्षी दललाई आग्रह गरिन्।