देशमा निराशा फैलाउने भाष्य निर्माण नगर्न सबै राजनीतिक दललाई अमरेशकुमार सिंहकाे आग्रह

संसदभित्र घोचपेच र आरोप–प्रत्यारोपभन्दा पनि साझा समाधान खोज्नुपर्नेमा जोड

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले देशमा निराशा फैलाउने भाष्य निर्माण नगर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन्।  मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सर्लाहीमा आत्मदाह गरेका  विवेक मण्डलको मृत्युले आफूलाई गहिरो रूपमा बेचैन बनाएको उल्लेख गर्दै उनले अहिले राज्य र जनतामाथि संकट रहेको बताए। देशमा बाँच्न र केही गर्न सकिँदैन भन्ने नकारात्मक धारणा संसदबाटै निर्माण गर्न नहुने उनको भनाइ थियो।

सिंहले संसदभित्र घोचपेच र आरोप–प्रत्यारोपभन्दा पनि साझा समाधान खोज्नुपर्नेमा जोड दिए। उनले संसदमा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका सबै राजनीतिक दललाई लोकतन्त्र र राज्यको संरक्षणलाई पहिलो प्राथमिकता दिन आग्रह गरे।

‘सत्ता र प्रतिपक्ष स्थायी होइनन्, यो निरन्तर चलिरहने प्रक्रिया हो। तर, जनता र लोकतन्त्र नै समाप्त भयो भने कोही पनि रहँदैन,’ उनले भने।

उनले देशमा व्यवसायी, युवा र विद्यार्थीमा बढ्दो निराशाप्रति चिन्ता व्यक्त गर्दै निराशा बाँड्ने होइन, मिलेर समाधान खोज्नुपर्ने धारणा राखे। देश निर्माणको जिम्मेवारी लिएर संसदमा आएको स्मरण गराउँदै उनले सबै दललाई सहकार्य र जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरे।

सुझावित समाचार