गत शुक्रबार दिउँसो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका सर्लाहीको गोडैता नगरपालिका– १० का ३५ वर्षीय विवेक मण्डलको उपचारको क्रममा निधन भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनको आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
विवेकको ९० प्रतिशत शरीर जलेको थियो । उनलाई शुक्रबार नै हेलिकाेप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो ।
विवेकका काका हजुरबुबा रामएकवाल मण्डलका अनुसार उनलाई प्लस टु, बिएस्सी र एमएस्सीसम्म पढाउँदा बुबा उपेन्द्रको टाउकोमा ऋणको गह्रौँ भारी लाग्यो । गाउँका महाजनसँग लिएको ऋणमा मिटरब्याज लाग्दा यति चर्को पर्यो कि त्यो बोझ घटाउन जमिन धितो राखेर लक्ष्मी बैंकबाट १४ लाख ऋण लिए ।
तर, पढ्दा लागेको ऋणको ब्याज तिर्न बैंकले गर्ने ताकेता र पढेपछि बेरोजगार रहनुपर्ने आफ्नो अवस्थाका कारण विवेक मानसिक दबाबमा थिए । त्यही दबाब खप्न नसकेका उनले गत शुक्रबार दिउँसो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।
‘विवेक पढाइमा तेज थियो । काठमाडौंमा एमएस्सी पढ्दा पनि कलेजमा एक नम्बरमै नाम निकालेको थियो । उसलाई पढाउँदा परिवारलाई ठुलै ऋण लाग्यो । पढेपछि रोजगारी मिल्ला, कमाएर तिरिएला भन्ने आस ऊसँग थियो, तर रोजगारी मिलेन । बैंकको ब्याज धान्न नसकेपछि केही महिनादेखि ऊ निकै तनावमा थियो,’ काका हजुरबुबा रामएकवालले भने ।
विवेकले करिब तीन वर्ष महोत्तरीको गौशालास्थित एक विद्यालयमा (कक्षा ११ र १२) पढाए । त्यहाँको जागिर छाडेको पनि एक वर्ष भइसकेको थियो । परिवारका सदस्यका अनुसार विद्यालयभित्रको राजनीतिक चलखेलका कारण उनी जागिर छाड्न बाध्य भएका थिए । हजुरबुबा रामएकवालका अनुसार उनले अन्य विभिन्न विद्यालय र शैक्षिक संस्थामा पनि रोजगारीको प्रयास गरे । लोकसेवा आयोगका परीक्षामा समेत सहभागी भए । तर, कुनै प्रयास सफल नभएपछि उनी बेरोजगार भएर घरमै बस्दै आएका थिए ।
‘विवेकलाई पढाउँदा परिवारले महाजनसँग लिएको ऋणको ब्याज चर्को थियो । त्यो ब्याजबाट मुक्त हुन जग्गा धितो राखेर बैंकबाट १४ लाख ऋिण लियो । तर, बैंकको ब्याज तिर्न सक्ने अवस्था पनि भएन । त्यत्रो पढेर पनि बेरोजगारी बस्नुपर्ने, अर्कोतिर ऋणले थिच्दै जाने अवस्थाले ऊ मानसिक रूपमा कमजोर बन्दै गएको थियो,’ रामएकवालले भने ।
बैंकबाट लिएको ऋणले पनि गाउँका महाजनको सबै ऋण चुक्ता भएको थिएन । महाजन र बैंकको गरी अहिले पनि ३० लाखभन्दा बढी ऋण रहेको परिवार स्रोत बताउँछ । आफूलाई पढाउन परिवारले लाखौँ लगानी गरे पनि बेरोजगारीका कारण आफूले परिवारको अपेक्षा पूरा गर्न नसकेको पीडा विवेकमा रहेको काका हजुरबुबा रामएकवाल बताउँछन् । उनका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा विवेक रास्वपामा सक्रिय भएर लागेका थिए ।
‘पढाइमा परिवारले ठुलो लगानी गर्यो, तर भनेजस्तो रोजगारी पाएन । केही वर्ष महोत्तरीमा कलेज पढाएको पनि थियो, पछि के भएर हो छाडेछ,’ रामएकवालले भने, ‘गत निर्वाचनमा रास्वपामा लागेर हिँडेको देखेको थिएँ । पछि के भयो थाहा भएन ।’
विवेकका काकाहजुरबुबा रामएकवाल मण्डल भन्छन्– ३० लाखभन्दा बढी ऋण छ भन्थ्यो, प्राय: तनावमा देखिन्थ्यो
विवेक पढाइमा तेज थियो । काठमाडौंमा एमएस्सी पढ्दा पनि कलेजमा एक नम्बरमै नाम निकालेको थियो । उसलाई पढाउँदा परिवारलाई ठुलै ऋण लाग्यो । पढेपछि रोजगारी मिल्ला, कमाएर तिरिएला भन्ने आस ऊसँग थियो, तर रोजगारी मिलेन ।
बैंकको मात्रै १४ लाख ऋण थियो, चर्को ब्याजमा साहुमहाजनसँग लिएको समेत गरी ३० लाखभन्दा बढी ऋण छ भन्थ्यो । त्यत्रो पढेर पनि बेरोजगारी बस्नुपर्दा र ब्याज पनि तिर्न नसक्दा केही महिनादेखि ऊ निकै तनावमा देखिन्थ्यो ।