बैंककको एक बारमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आगलागीमा २५ जना गम्भीर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रख्यात चतुचक जिल्लास्थित बारको स्टेजनजिकै लागेको आगो द्रुत गतिमा फैलिएको थियो । आगलागीपछि कोठा धुवाँले भरिएको थियो । सामाजिक सञ्जालहरूमा पोस्ट गरिएका भिडियो फुटेजमा रोङ बियर ना लाट फ्राओ नामक बारको आगोले भरिएको ढोकाबाट आतंकित ग्राहक चिच्याइरहेका देखिन्छन् । मध्यरातपछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकले तुरुन्तै आगो निभाए । धेरैजसो पीडितको शव बाथरुममा फेला परेको थियो ।
‘मृत्यु भएका अधिकांश मानिस बाथरुममा फेला परेका थिए । आगलागीपछि उनीहरू आत्तिएका थिए । त्यहाँ बत्ती पनि थिएन,’ राष्ट्रिय प्रहरी प्रमुख कित्रात पानफेटले भने । ‘मैले आगो निभाउने यन्त्र (फायर एक्सटिङगिसर) समातेर ढोकातिर छर्किएँ । तर, म अघि बढ्न सकिनँ । मैले मानिसहरूको चिच्याहट सुनेँ,’ लाओसका २४ वर्षीय काएउ उडोन पाउङपानीले भने । उनका भाइ आगलागीमा ज्यान गुमाउनेमध्ये एक थिए । रोयटर्स समाचार संस्थाका अनुसार चुरोट पिउन बाहिर निस्किएकी एक महिला केही सेकेन्डको अन्तरले ज्यान बचाउन सफल भइन् । ‘एक्कासि ठुलो आवाज आयो । बाहिर निस्कने कुनै उपाय नै थिएन,’ ४१ वर्षीया उसा तादश्रीले भनिन् ।
बैंककको विपत् न्यूनीकरण विभागको प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनरमा भएको विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने संकेत गरेको छ, यद्यपि यसको आधिकारिक कारण भने खुलाइएको छैन । अधिकारीहरूले विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । थाइल्यान्डमा यस्तो ठुलो आगलागी भएको पहिलोपटक भने होइन । यसअघिका दुःखद घटनापछि पनि आगलागी तथा विद्युतीय सुरक्षा मापदण्डमा सुधार गर्ने आधिकारिक प्रतिबद्धता जनाइएका थिए । तर प्रतिबद्धताका बाबजुद त्यसको कार्यान्वयन अझै पनि फितलो देखिन्छ । सोमबार बिहानै घटनास्थलको निरीक्षण गरेका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले बताएअनुसार आगलागीअघि बारमा ठुलो विस्फोटको आवाज सुनिएको थियो ।