प्रेरक प्रसंग : पवित्र र इमानदार पेसा

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

एकपटक बाल गंगाधर तिलक आफ्ना केही निकट मित्रसित वार्तालाप गरिरहेका थिए । उनले भर्खरै वकालत पास गरेका थिए । एक मित्रले उनीसित सोधे– तिलक, तिमीले वकालत पास गर्यौ । अब अगाडि के गर्ने विचार छ ? कुनै सरकारी नोकरी गर्छौ कि न्यायालयमा वकालत ?

मित्रको प्रश्न सुनेपछि एकैछिन घोरिएर तिलकले भने– मलाई सरकारको दास बनाउने पैसा चाहिँदैन । हरेक दिन कैयौँपटक झुट बोल्नुपर्ने वकालत पनि मलाई गर्नुछैन । उनको जवाफपछि यस विषयमा खासै चर्चा भएन । उनीहरू अरू नै विषयमा कुराकानी गर्न थाले । यस घटनाको केही दिनपछि तिलकका साथीहरूले तिलकले कुनै एक स्कुलमा पढाउन सुरु गरेको खबर सुने । उनको तलब थियो, महिनाको ३० रुपैयाँ । तिलकका तिनै मित्र, जसले उनीसित भविष्यको योजनाबारे सोधेका थिए, उनी सीधै तिलककहाँ पुगे । उनले आश्चर्यपूर्वक सोधे– यो तिमीले के गर्यौ तिलक ? वकालतको डिग्री लिएर पनि तिमी अध्यापक किन बन्यौ ? के तिमीलाई शिक्षकहरूको आर्थिक दुरवस्थाबारे केही पनि थाहा छैन ? मित्र तिलक, जब तिमीले यो संसार छाड्नेछौ, त्यतिखेर तिम्रो घरमा अन्तिम संस्कारका लागि समेत केही पनि बाँकी हुनेछैन ।

आफ्ना मित्रको भनाइ सुनेपछि मुस्कुराउँदै तिलकले भने– मेरा प्रिय मित्र, मैले जुन पेसा चुनेको छु, त्यो निकै पवित्र छ, इमानदार छ । रह्यो मेरो अन्तिमम संस्कारको चिन्ता, त्यसको व्यवस्था पक्कै पनि नगरपालिकाले गरिदिनेछ । बेकारमा म त्यसको किन चिन्ता गरिरहूँ ?

सुझावित समाचार