मुग्लिन–नारायणगढ सडकमा पहिरो हटाएर एम्बुलेन्ससहित अत्यावश्यक सवारी गन्तव्यतर्फ पठाइँदै

जोखिममा कायमै रहेकाले अर्को सूचना नभएसम्म नयाँ सवारी प्रवेशमा रोक

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

लगातारको अविरल वर्षाका कारण पहिरो र लेदोसहितको अवरोधले बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्डमा बिचबाटोमा रोकिएका एम्बुलेन्ससहित अत्यावश्यक सवारीसाधनलाई गन्तव्यतर्फ पठाइको छ ।

सडक डिभिजन कार्यालयका प्राविधिक र निर्माण कम्पनीका उपकरणको सहयोगमा विभिन्न स्थानमा खसेको पहिरो तथा लेदो हटाउँदै सडकमा अलपत्र परेका सवारीसाधनलाई चरणबद्ध रूपमा गन्तव्यतर्फ पठाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

डिभिजनका सुपरभाइजर सुकबहादुर गुरुङका अनुसार वर्षा केही कम भएका वेला जोखिम मूल्यांकन गर्दै एम्बुलेन्स तथा अत्यावश्यक सेवा बोकेका सवारीलाई प्राथमिकता दिइएको हो । तर, सडकमाथिबाट अझै पनि लेदो र ढुंगा झर्ने क्रम नरोकिएकाले पूर्ण रूपमा सवारी सञ्चालन भने सम्भव हुन सकेको छैन । सडकका विभिन्न स्थानमा पहिरोको जोखिम कायम रहेकाले नयाँ सवारीसाधनलाई सडकमा प्रवेश गर्न नदिइएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै पनि नयाँ सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रशासनले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ।

सुझावित समाचार