नेपाली कम्युनिस्ट पार्टीले प्रमुख सञ्चारगृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन राखेर सञ्चार संस्थाको नियमित काममा अवरोध पुर्याइएको घटनाप्रति आपत्ति जनाएको छ। पार्टीले उक्त घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गर्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा प्रेसलाई त्रसित बनाएर वा दबाबमा राखेर सत्यलाई रोक्न खोज्नु लोकतन्त्रविरोधी मानसिकताको उपज भएको दाबी गरिएको छ। सञ्चारमाध्यमहरूले सुकुमवासी, मिटरब्याजपीडित, सहकारीपीडित, बेरोजगार युवा, भ्रष्टाचार, कुशासन र जनजीविकाका सवालमा निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै पार्टीले सञ्चार क्षेत्रलाई निशाना बनाउने प्रयास गम्भीर विषय भएको जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले राज्य संयन्त्र कानुन, संविधान र विधिअनुसार सञ्चालन हुनुपर्ने बताउँदै बहुमत प्राप्त सरकारले पनि संविधानभन्दा माथि जान नसक्ने धारणा राखेको छ। सरकारको आलोचना गर्ने आवाज कमजोर पार्ने वा राज्यका कमजोरी ढाकछोप गर्ने उद्देश्यले प्रेसमाथि दबाब सिर्जना गरिए, त्यो लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत हुने पार्टीको भनाइ छ।
विज्ञप्तिमा नेपाली प्रेसको इतिहास लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्षपूर्ण रहेको उल्लेख गर्दै धम्की, त्रास वा दमनबाट पत्रकारिता नझुक्ने दाबी गरिएको छ।
पार्टीले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
