घान्द्रुक जाने सडक अस्थायी रूपमा सञ्चालन

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

लगातारको वर्षापछि मेदी खोलामा आएको बाढीले कटान गरेपछि बन्द रहेको विरोठाँटी हुँदै घान्द्रुक जाने सडक अस्थायी रूपमा खुलेको छ। आइतबार दिउँसोदेखि बन्द सडक खोलाको कुनाबाट कच्ची ट्र्याक बनाएर अस्थायी रूपमा खुलाइएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।

आइतबारको तुलनामा पानीको बहाव खोलामा केही घटे पनि पानीको सतह बाढी आउनुअघिको अवस्थामा नआउँदा ग्याबिन भर्नेलगायतका काम गर्न असहज भएकाले बाटो हाललाई अस्थायी रूपमा खुलाएर फसेका गाडीलाई निकालिएको उनले जानकारी दिए। यद्यपि रातिको समयमा भने आवतजावत गर्न बन्द गरिएको उनले बताए।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित किम्रोंग खोलामा आइतबार आएको बाढीका कारण सडक कटान भएको हो। किम्रोंग खोला झिनुमा गएर मोदी खोलामा मिसिने गर्दछ। बाढीका कारण अन्नपूर्ण ८ र १० को सिमानामा पर्ने सेउलिबजारमा मोदी खोलाले सडक कटान गरेपछि विरोठाँटी हुँदै घान्द्रुक जाने पक्की सडक पूर्ण रूपमा बन्द भएको थियो। खोलामा पानीको बहाव घटेपछि ग्याबिन जाली भरेर बाटो पहिलेकै अवस्थामा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए।

बाढीका कारण सेउलीबजारमा रहेको एक रेस्टुरेन्ट र एक घर पूर्ण रूपमा बगाएको छ भने अर्को एक रेस्टुरेन्टमा क्षति पुगेको छ। किम्रोंग खोलामा आएको बाढीले किम्रोंगस्थित झोलुंगे पुलसमेत बगाएको छ।
 

सुझावित समाचार