जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने र पुँजी पुनः निर्धारण गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले यस्तो निर्णय गरेको हो । हाल यो कम्पनी प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रक्रियामा छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी र समिट इनर्जी सोलुसनले उक्त कम्पनीको जगेडा सेयरमा लगानी गर्ने प्रस्ताव गरेका छन् । विशेष साधारणसभाले दुईवटै कम्पनीलाई प्रतिकित्ता १२५ का दरले दुई–दुई लाख कित्ता सेयर दिने निर्णय गरेको छ । अब जनता एग्रोमा यी दुई कम्पनीको कुल पाँच करोड रुपैयाँबराबरको सेयर रहने बताइएको छ ।
दुई अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको जनता एग्रोले न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म सर्वसाधारणमा आइपिओ निष्कासन गर्ने जनाएको छ । विशेष साधारणसभाले उक्त प्रयोजनका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको हो ।
जनता एग्रोको यसअघि ०८२ मंसिरमा सम्पन्न साधारणसभाले आइपिओ जारी गर्ने निर्णय गरेको थियो । आइपिओ प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी ढाँचाअनुरूप सम्पन्न गर्नका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्सलाई नियुक्त गरिसकिएको कम्पनीको भनाइ छ ।