कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीस्थित एक विद्यालयलाई सहयोग गरेको हो । बैंकले देवचुली नगरपालिका– १५, नवलपरासीस्थित श्री जनज्योति माविमा अभिभावक प्रतीक्षास्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरण सहयोग गरेको हो ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतोपाटी हस्तान्तरण गरेका हुन् । साथै, बैंकले अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिलक्षित प्रतीक्षास्थलका लागि पनि सहयोग गरेको जनाइएको छ ।
संघका अध्यक्ष भट्टराईले उक्त सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलगायतको उपस्थिति थियो ।