भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई उद्घाटन भएको चार वर्ष बितिसकेको छ । तर, यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । विमानस्थल उद्घाटन भएदेखि नै सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्ने घोषणा गर्दै आएको छ । तर, कार्यान्वयन भने हुन सकेको छैन ।
जजिरा, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सलगायतले उडान सुरु गरेको भए पनि निरन्तरता दिएनन् । करिब ३२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा एकातर्फ राज्यको लगानीले प्रतिफल पाउन सकेको छैन भने अर्कातर्फ पर्यटन व्यवसायीले होटेललगायत क्षेत्रमा गरेको अर्बौँ लगानी जोखिममा परेको छ ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्ने उल्लेख छ । तर, हालसम्म कार्यान्वयन भएन । फ्लाई दुबईले आगामी सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा नियमित उडान गर्ने घोषणा गरिसकेको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको तयारी भइरहँदा भैरहवामा भने कुनै तयारी गरिएको छैन ।
पछिल्लोपटक भैरहवाका पर्यटन व्यवसायी आबद्ध संस्था सिद्धार्थ सञ्जालले भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै काठमाडौं पुगेरविभिन्न मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । विश्वभरका बौद्धमार्गीलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भित्र्याउने महत्वाकांक्षी निर्माण भएको विमानस्थल सञ्चालन नहुँदा सरकार र निजी क्षेत्रको अर्बौँ लगानी जोखिममा परेको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए ।
टोलीले गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)लाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनी विश्व शान्तिको केन्द्र, बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्य भए पनि विमानस्थलको प्रभावकारी सञ्चालन नहुँदा यसको प्रत्यक्ष लाभ राष्ट्रले लिन नसकेको जनाएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले विमानस्थल सञ्चालनको विषयलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।
‘विमानस्थलकेन्द्रित पर्यटन, होटेल, यातायात, व्यापार तथा सेवा क्षेत्रमा सरकारको ठुलो लगानी, स्थानीय तहको सहयोग तथा निजी क्षेत्रको अर्बौँ लगानी भएको छ,’ अध्यक्ष ज्ञवालीले भने, ‘विमानस्थल सञ्चालन भएसँगै नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वासमा व्यवसायीले होटेल, रिसोर्ट, ट्राभल एन्ड टुर, रेस्टुरेन्ट, यातायात तथा अन्य क्षेत्रमा ठुलो लगानी गरे । तर, अपेक्षित अन्तर्राष्ट्रिय उडान नहुँदा ती लगानी जोखिममा परेका छन् ।’