धादिङको थोपल खोलामा १३ वर्षीया बालिका मृत फेला

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित थोपल खोलामा १३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन्। मृतक गंगाजमुना गाउँपालिका–१ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा बस्दै आएकी सृष्टि तामाङ हुन्। खोला तर्ने क्रममा उनलाई थोपल खोलाले बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलबाट करिब ५०० मिटर तल झाडीमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो। सांकोष र नीलकण्ठ जोड्ने झोलुंगे पुलनजिकैको ड्याम क्षेत्रमा खोलाले बगाएपछि सृष्टिसँगै रहेका दिदीबहिनी तथा साथीहरूले आफन्त र स्थानीयवासीलाई खबर गरेका थिए।

सृष्टिकी आमा हाल भारतमा बसोबास गर्दै आएकी छिन्। उनी भने दामगाडेमा आफ्ना बुबा तथा आफन्तसँग बस्दै आएकी थिइन्।

बालिकाको शव पोस्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए।

सुझावित समाचार