लगातारको वर्षापछि आएको बाढीले कास्कीमा एक झोलुंगे पुल बगाएको छ। बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित किम्रोंग खोलाको झोलुंगे पुल बगाएको हो।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बाढीले पुल बगाएपछि सो क्षेत्रमा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। करिब १४० मिटर लामो पुल बगेसँगै किम्रोंग हुँदै घान्द्रुक आउने बाटो बन्द भएको छ।
अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने किम्रोंग खोलामाथिको पुल बाढीले बगाएसँगै स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी, दैनिक उपभोगका सामान ढुवानी गर्ने सर्वसाधारणसँगै पदयात्राका लागि गएका र जाने पर्यटकहरूलाई असर परेको छ।
किम्रोंगबाट घान्द्रुक आउन करिब दुई घण्टाको फेरो घुम्नुपर्ने भएको अध्यक्ष केसीले जानकारी दिए। अब किम्रोंगबाट भुजुङ, मेलाचे हुँदै घान्द्रुक आउनुपर्ने उल्लेख गर्दै उनले जोखिम अझ बढेको बताए।
संघीय सरकार, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की एवं सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै क्षतिग्रस्त पुलको यथाशीघ्र निरीक्षण, अस्थायी आवतजावतको व्यवस्था तथा स्थायी रूपमा पुनर्निर्माणको कार्य शीघ्र अघि बढाउन अध्यक्ष केसीले अनुरोध गरेका छन्।