धादिङमा डलर सटहीको बहानामा कास्कीका सुन व्यापारीको झन्डै १२ लाख रुपैयाँ र सुनका गरगहना ठगेको आरोपमा सिन्धुपाल्चोकका एक व्यक्ति पक्राउ परेका छन्।
रुमालले बेरेको कागजको बन्डललाई अमेरिकी डलर भनेर झुक्याएर ११ लाख ७५ हजार नगदसहित एक तोलाको सुनको बेरुवा औँठी र आधा तोलाको बक्स औँठी लिएर भागेको आरोपमा काठमाडौंको गोकर्णेश्वर– ३, शनिटार बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ३, धार्पाका ३७ वर्षीय बुद्धिबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो।
योञ्जनसहित चार–पाँचजनाको गिरोहले फोनमार्फत चिनजान गरी कास्कीको पोखरा– १७, बिरौटा बस्ने ६९ वर्षका सुनचाँदी व्यवसायी थमानसिंह विश्वकर्मालाई गत जेठ १३ गते बिहान धादिङको धुनीबेँसी नगरपालिका– ८, चुलेडाँडास्थित कच्ची सडकको एकान्त ठाउँमा बोलाएर भेटेका थिए।
गिरोहले आफूहरूसँग ६५ हजार अमेरिकी डलर रहेको र सो सटही गर्दा ठुलो फाइदा हुने भनी विश्वास दिलाएर विश्वकर्मालाई रुमालले बेरेको कागजको बन्डल थमाएर पैसा र गरगहना लिएर हिँडेका थिए।
प्रतिवादीमध्येका योञ्जनलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा जिल्ला प्रहरी कार्यालय धादिङले गत शुक्रबार धुनीबेँसी– ९, झ्याप्लेखोलाबाट पक्राउ गरेको हो।
उनी सवार बा.प्र. ०२–०६७ प ६२६३ नम्बरको मोटरसाइकल, एक थान आइफोन ११ प्रो म्याक्स र एक बन्डल कागजका टुक्रासमेत बरामद गरी अन्य अभियुक्तहरूको खोजतलास जारी रहेको धादिङ प्रहरीले जनाएको छ।
पक्राउ परेका योञ्जनविरुद्ध ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी आइतबार धादिङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।