दाङको तुलसीपुर उपमहानगरपालिका– १२ टरिगाउँनिवासी यमराज उपाध्याय लामो समयदेखि पुरोहित काम गर्दै आएका छन् । सामान्य अध्ययनलाई आधार बनाएर उनले पुरोहितको काम गर्दै आएको भए पनि औपचारिक कक्षा भने थिएन ।
‘सामान्य अध्ययन थियो, तर सबै अध्ययन थिएन,’ उनले भने, ‘हामीले काम गर्न लागेको वर्षौँ भयो, तर अहिलेसम्म पनि खास अध्ययन रहेनछ ।’ उनले अहिले ‘गुरुहरू’बाट आफूहरूले गरेको कामको कमीकमजोरी पत्ता लगाउने, शुद्ध उच्चारण गर्न सिक्ने अवसर प्राप्त गरेको बताए ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका– ९, दोघरेनिवासी गणेश आचार्यसँग पनि आफू २२ वर्षको उमेर हुँदादेखि नै पुरोहितको काम गरेको अनुभव छ । उनी अहिले ६० वर्षको हाराहारीमा पुगि सकेका छन् । तर, पुरोहितको कक्षा भने लिएका छैनन् । बाजे, बुबाहरूले गरेको देखेर उनले पुरोहितको काम गर्न थालेका थिए ।
यसरी लामो समयदेखि पुरोहित काम गरेको, तर औपचारिक कक्षा नलिएकाहरूका समाजमा धेरै छन् । उनीहरूले नै जन्म, मृत्यु, विवाहलगायतका पूजाआजामा पुरोहितको काम गर्दै आएका छन् ।
यसरी लामो समय पुरहितको काम गर्दै आएका, तर औपचारिक शिक्षा नलिएकाहरूलाई माध्यमिक तहको तालिम प्रदान गरिँदै आइएको छ । जसले उनीहरूले गरिरहेको कामलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा लिइएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको जनता विद्यापीठ बिजौरीले यसरी ६ महिने कक्षा दिएको प्रशिक्षक बद्रीप्रसाद गौतमले बताए । ‘उहाँहरूले गाउँ–गाउँमा कर्मकाण्ड गराउँदै आउनुभएको छ, यो समाजको सेवा पनि हो,’ उनले भने, ‘अब यो ६ महिनाको कोर्स पूरा गरेपछि थप प्रभावकारी बन्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ उक्त कक्षामा विगतदेखि पुरोहितको काम गर्दै आएका तथा नयाँ सिक्दै गरेकाहरूको समेत सहभागिता रहेको छ ।
गएको माघ १२ गतेदेखि यसरी पुरोहितलाई बाैद्धिक कर्मकाण्डको कक्षा सञ्चालन गरिएको हो । जुन कक्षाको शनिबार प्रयोगात्मक कक्षा भएको हो । उनीहरूले ६ महिना पूरा गरेपछि मावि तहको कर्माकाण्डको प्रमाणपत्रसमेत प्राप्त गर्ने प्रशिक्षक गौतमले बताए । हाल ४८ जना पुरोहित यसरी कक्षामा सहभागी भएका छन् ।