वन जोगाउन वैज्ञानिक व्यवस्थापन र सञ्चारको भूमिका उत्तिकै : अध्यक्ष पाण्डे

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

वैज्ञानिक तथा दिगो वन व्यवस्थापनमार्फत वन संरक्षणसँगै उपभोक्ताको आवश्यकता परिपूर्ति गर्न सरोकारवालाहरूले जोड दिएका छन्।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजना तथा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहयोगमा बुद्धभूमि नगरपालिका– १०, चेतरादेईमा आयोजित ‘वन व्यवस्थापन, अध्ययन, अनुसन्धान तथा संरक्षण सम्बन्धी अन्तरक्रिया तथा वन क्षेत्र अवलोकन भ्रमण’ कार्यक्रममा सहभागीहरूले वनको वैज्ञानिक व्यवस्थापन र सञ्चार क्षेत्रको भूमिकाबारे विस्तृत छलफल गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा साझेदारी वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष जयप्रकाश पाण्डेले वन विज्ञानका सिद्धान्तअनुसार वन व्यवस्थापन गर्न सके मात्र आर्थिक प्रतिफल, सुशासन र वातावरणीय सन्तुलन कायम गर्न सकिने बताए। उनले वनको दिगो विकासका लागि वैज्ञानिक संवर्द्धन प्रणालीको प्रभावकारी कार्यान्वयन र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत यादव सापकोटाले कानुनी व्यवस्था र कार्यान्वयन प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गर्दै प्रचलित कानुन र कार्ययोजनाको परिधिभित्र रहेर गरिने प्राविधिक अभ्यासले मात्र वनको उत्पादकत्व बढाउने बताए।

चेतरादेई वन डिभिजनका प्रमुख दीपक केसीले तिलौराकोट साझेदारी वनको कुल ६ हजार ५७४.८९ हेक्टर क्षेत्रफललाई ६ ब्लक र २३ कम्पार्टमेन्टमा विभाजन गरी १० वर्षे कार्ययोजनाअनुसार ‘आन्तरिक छहारी प्रणाली’ मार्फत व्यवस्थापन भइरहेको जानकारी दिए।

वन अधिकृत मोतीराम पौडेलले वन तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी संवैधानिक व्यवस्थाबारे जानकारी गराएका थिए।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन व्यवस्थापनमा सञ्चार माध्यम र पत्रकारिताको भूमिकाबारे पनि चर्चा गरिएको थियो। अध्यक्ष भुसालले वन क्षेत्रमा सुशासन कायम गराउन तथा वैज्ञानिक वन व्यवस्थापनका अभ्यासलाई नागरिकसम्म पुर्याउन पत्रकारिताले सधैँ पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघका उपाध्यक्ष खगप्रसाद चापागाईंको स्वागत तथा सहसचिव कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमपछि पत्रकार र वनकर्मीको संयुक्त टोलीले तिलौराकोट साझेदारी वन क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालित गतिविधिको प्रत्यक्ष निरीक्षणसमेत गरेको थियो।

सुझावित समाचार