भारतीय विमानस्थलमार्फत श्रमिक पठाउने १५९ म्यानपावरलाई विभागको चेतावनी

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

वैदेशिक रोजगार विभागले विभागीय पूर्वस्वीकृतिविना भारतीय विमानस्थलमार्फत नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वैदेशिक रोजगार व्यवसायी संस्थालाई पहिलो चरणमा चेतावनी दिएको छ।

विभागका अनुसार ती संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको पुष्टि भएपछि सचेत गराउने निर्णय गरिएको हो।

विभागले ०८२ चैत १ देखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकको उडानसम्बन्धी विवरण संकलन गरी अनुगमन गरेको थियो। अनुगमनका क्रममा सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामध्ये ६७८ संस्थाले मात्र मागिएको विवरण पेस गरेका थिए।

प्राप्त विवरणको परीक्षण गर्दा १५९ संस्थाले विभागको पूर्वस्वीकृतिविना भारतीय विमानस्थल प्रयोग गरी श्रमिकलाई विदेश पठाएको भेटिएको विभागले जनाएको छ।

विभागले निर्देशनअनुसार आवश्यक विवरण पेस नगर्ने ४३९ संस्थालाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलोपटक चेतावनी दिएको छ। ती संस्थालाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन पुनः निर्देशनसमेत जारी गरिएको छ।

यस्तै, कानुनी व्यवस्था र विभागीय निर्देशन पटक–पटक उल्लंघन गर्ने आठ वैदेशिक रोजगार व्यवसायी संस्थालाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ। तीमध्ये तीन संस्थाले पुनः भारतीय विमानस्थलमार्फत श्रमिक पठाएको र पाँच संस्थाले मागिएको विवरण उपलब्ध नगराएको आधारमा आर्थिक दण्ड गरिएको हो।

विभागले वैदेशिक रोजगार व्यवसायीलाई ऐन, नियम तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै यस्ता उल्लंघन दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

सुझावित समाचार