फ्रान्सका कप्तान केलियन एम्बाप्पे र पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाबिचको विवादले उग्र रूप लिएको छ । गत ४ जुलाईमा विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनल खेलमा फ्रान्सले पाराग्वेको सामना गरेको थियो ।
सिनेटर सेलेस्टेले खेलपछि एम्बापेमाथि रंगभेदी टिप्पणी गरेकी थिइन् । जसका कारण उनी आलोचित बनिन् । अहिले सेलेस्टले उल्टै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका एम्बाप्पेविरुद्ध मानहानी र गालीगलौज मुद्दा हाल्ने तयारी गरेको बिबिसीले जनाएको छ ।
सेलेस्टेकी वकिल गुइलेर्मो डुआर्टेले एम्बाप्पेले सिनेटरको अपमान गरेको भन्दै पाराग्वेको अदालतमा उजुरी हाल्ने विषयमा उनले छलफल भएको जानकारी दिएका छन् । ‘पाराग्वेको अदालतले यो मुद्दालाई स्वीकार गर्यो र एम्बाप्पे दोषी ठहरिएमा उनलाई अधिकतम तीन वर्षसम्मको जेल सजाय हुन सक्छ,’ फ्रान्सेली पत्रिकाले पेरिसियनसँग सेलेस्टेका वकिल डुआर्टेले भने, ‘यस्तो अवस्थामा फ्रान्स र पाराग्वेबिचको सुपुर्दगी–सन्धिअनुसार एम्बाप्पेलाई पाराग्वे ल्याउनुपर्ने स्थिति आउन सक्छ ।’
प्रिक्वार्टरफाइनल खेलमा सेलेस्टेले एम्बाप्पेको फ्रान्सेली पहिचानमाथि प्रश्न उठाएकी थिइन् । उनले विश्वकपका स्टार खेलाडीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । एम्बाप्पेले प्रत्युत्तरमा सेलेस्टेलाई पदको गरिमा थाहा नभएको घृणीत महिलाकी रूपमा टिप्पणी गरेका थिए । एम्बाप्पेको यसै टिप्पणीलाई लिएर सिनेटरले मुद्दा हाल्ने तयारी गरेको वकिल डुआर्टेले बताए ।
पाराग्वेमा एम्बाप्पेलाई जेल हाल्ने योजना बनिरहँदा फ्रान्सका मानव अधिकारवादीले सिनेटरविरुद्ध अनुसन्धान सुरु गरिसकेका छन् । ‘एम्बाप्पेलाई नश्लीय, जातीय र राष्ट्रियताका आधारमा अपमान गरिएको छ,’ मानव अधिकारवादीले भने, ‘फ्रान्सको अदालतमा सेलेस्टे दोषी ठहरिइन् भने एक वर्षको जेल र ४५ हजार युरो जरिवाना हुन सक्छ ।’ सेलेस्टेले एम्बाप्पेविरुद्धको अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएको बताइन् ।