पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित मुसेटुँडामा २२ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। सम्पन्न आयोजनाबाट उत्पादित विद्युतको परीक्षणसँगै प्राविधिक परीक्षणको काम सुरु भएको छ। आयोजनाको प्राविधिक परीक्षणपछि साउन दोस्रो साताबाट नियमित व्यावसायिक विद्यृत् उत्पादन सुरु हुनेछ।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा डोल्मा इम्प्याक्ट फन्डमार्फत स्वेड फन्ड, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, डिएफसी, एफएमओ, जाइका, आइएफसीलगायत विदेशी संस्थाको समेत लगानी रहेको छ। आयोजनाको शुक्रबार नेपालका लागि युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेन्जोले उद्घाटन गरेकी थिइन्।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७८ मा निर्माण सुरु गरिएको आयोजना समयमै निर्माण सम्पन्न भएको आयोजनाका निर्देशक दीपक बरालले जानकारी दिए। पाँच अर्ब पाँच करोड लागतमा निर्माण गरिएको आयोजनाको पोखरा ३३ स्थित तिकलाङमा रहेको बाँधबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्फत पानी विद्युतगृहमा लगिएको छ। विद्युतगृहबाट सात सय ८० मिटर लामो पेनस्टकमार्फत पानी पावरहाउससम्म पुर्याइएको छ।
पावरहाउसमा ११/११ मेगावाट क्षमताका दुईवटा टरर्बाइन जडान गरी विद्युत् उत्पादन गरिएको बरालले जानकारी दिए। उत्पादित विद्युत् करिब १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लेखनाथ–दमौली १३२ केभी प्रसारण लाइनको ५३ र ५६ नम्बर टावरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
पोखरा महानगरपालिका क्षेत्रभित्रको सबैभन्दा ठुलो जलविद्युत् आयोजनाको रूपमा रहेको आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्रीका लागि प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको अध्यक्ष अनुप आचार्यले जानकारी दिए। आचार्यका अनुसार आयोजनाका सम्पूर्ण संरचनाहरू हेडवक्र्स, सेटलिङ बेसिन, हेडरेस टनेल तथा हेडरेस पाइप, सर्ज ट्यांक, पेनस्टक पाइप, पावरहाउस, टेलरेस तथा स्विचयार्ड सबै ३३ नम्बर वडामा रहेका छन् ।
आयोजनाले केही महिनाभित्र सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने तयारीसमेत गरेको उनले जानकारी दिए। आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीमा स्वच्छ तथा नवीकरणीय ऊर्जा थप गर्दै देशको ऊर्जा सुरक्षामा योगदान पुर्याउने अपेक्षा रहेकाको आचार्यले बताए।