कपिलवस्तुको वाणगंगा नगरपालिका–८, बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाको बहाव बढ्दा बिच भागमा फसेका सातजना युवाको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार दिउँसो करिब २: ५० बजे घटनाको सूचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपत् उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो। टोलीले समन्वयात्मक रूपमा उद्धार अभियान सञ्चालन गरी सबै ७ जनालाई सुरक्षित रूपमा बाहिर निकालेको प्रहरीले जनाएको छ।
उद्धार गरिएकामध्ये वाणगंगा नगरपालिका–४ का १७ वर्षीय सम्राट गिरी, १७ वर्षीय ज्ञानेन्द्र परियार, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय कृष्ण तिवारी, १७ वर्षीय मनीष थापा, वडा नं. १ बैरयाका १६ वर्षीय विकल्प रेस्मी तथा वडा नं. ८ त्रिलोक मार्गका १७ वर्षीय सुवास घिमिरे रहेका छन्।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। वर्षायाममा नदी तथा खोलाको बहाव एक्कासि बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी–खोलामा प्रवेश नगर्न तथा विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सर्वसाधारणलाई आग्रह गरेको छ।