मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–५ स्थित मोन्छयो ड्रग्कार थेग्छेन लिङ (गुम्बा) परिसरमा रहेको महाकरुणा शाक्यप निमाविको होस्टेलबाट हराएका दुई बालक दुई दिनपछि सकुशल फेला परेका छन्।
असार २५ गते साँझ ६:०० बजेदेखि कक्षा १ र यूकेजीमा अध्ययनरत दुई बालक होस्टेलबाट सम्पर्कविहीन भएका थिए। उनीहरू हराएपछि प्रहरी तथा स्थानीयवासीले व्यापक खोजतलास अभियान सञ्चालन गरेका थिए।
खोजतलासकै क्रममा असार २७ गते शनिबार बिहान १०:३० बजे लोमान्थाङ गाउँपालिका–२ स्थित भार्चा क्षेत्रमा दुवै बालक सकुशल फेला परेकाे प्रहरीले जनाएको छ ।
फेला परेपछि दुवै बालकको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि भएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा उनीहरूलाई विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।