कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाले चालू आर्थिक वर्ष ०८२/८३ मा ९२ दशमलव १ प्रतिशत वित्तीय प्रगति गरेको छ। शनिबार सदरमुकाम खाँदबारीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यालयले अलैँची सुपरजोन तथा सुन्तला जोन सञ्चालन समितिको बैठक तथा समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी सोबारेमा जानकारी दिइएको हो।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाका कार्यालय प्रमुख नवराज गुरुङले चालू आर्थिक वर्षका सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेको बताए। उनले चालू आर्थिक वर्ष ०८२/८३ मा संघीय सरकारबाट विभिन्न शीर्षकमा कुल पँँच करोड ८१ लाख १६ हजार पाँच सय रुपैयाँ कुल बजेट प्राप्त भएको थियो। त्योमध्ये पाँच करोड २५ लाख १३ हजार पाँच सय रुपैयाँ अर्थात् ९२ दशमलव एक प्रतिशत खर्च गरिएको बताए।
कार्यालय प्रमुख गुरुङका अनुसार, सिँचाइ पूर्वाधार निर्माण कार्यक्रम, आधुनिक अलैँची भट्टी जडान, कृषिजन्य औजार उपकरण वितरण, चक्लाबन्दी खेती, कृषि तथा पशुपन्छी विकास कार्यक्रम, अलैँची नर्सरी स्रोतकेन्द्र स्थापना, सुन्तलाको पुरानो नर्सरी सुदृढीकरण कार्यक्रम, सुन्तला नर्सरी स्थापना, उन्नत प्रविधिसहित क्षेत्रफल विस्तार, रैथाने बालीको प्रशोधन र अलैँचीलगायत बालीहरूको प्रशोधनजन्य उद्योग स्थापनालगायतको कार्यक्रम मुख्य गरी सञ्चालन गरिएको हो। कार्यक्रममा अलैँची सुपरजोन सञ्चालक समितिका अध्यक्ष पासाङ शेर्पाले संखुवासभामा अलैँची उत्पादन राम्रो हुने भएकाले लगानी गर्न आग्रह गर्दै अलैँची पदमार्ग विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरेर संखुवासभाको दक्षिणी नाका टुटेदेउरालीदेखि गुफापोखरी–मादी हुँदै चैनपुर–खाँदबारी अलैँची बगान हेर्दै आउने पदमार्ग विस्तार गर्न सके संखुवासभा अलैँचीको केन्द्र हो भन्नेबारेमा जानकारी पाउने बताए ।
त्यसैगरी, सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष हेमन्त राईले सुन्तला खेतीको प्रवर्द्धन गर्न आगामी वर्ष अझै कृषक लक्षित राम्रा कार्यक्रमहरू ल्याउन आग्रह गरे। उनले सुन्तलाबाट धेरै कृषकहरू आत्मनिर्भर भइरहेको बताउँदै लगानी गरी बगान बढाउन सके सुन्तलाको बजारसमेत राम्रो रहेको बताए ।
कार्यक्रममा सहभागी अलैँची सुपरजोन तथा सुन्तला जोन सञ्चालक समितिका सदस्य, सञ्चारकर्मीलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उनीहरूले कार्यालयले कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेका थिए। उक्त बैठकमा चालू आर्थिक वर्ष ०८२/८३ समीक्षाका साथै आगामी आर्थिक वर्ष ०८३/८४ मा ३ करोड ६८ लाख ४० हजार रुपैयाँ बजेट प्राप्त भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख गुरुङले बताए।
उनले गत वर्षको तुलनामा यो वर्ष बजेट घटेर आएको जानकारी दिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले विशेष गरी अलैँची र सुन्तला बाली लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यो कार्यालय संखुवासभा र भोजपुर दुईवटा जिल्ला हेर्ने गर्दछ । यो कार्यक्रम लागू भएपछि अलैँची र सुन्तलाका लागि पकेट, जोन हुँदै सुपरजोनमा स्तरवृद्धि हुन पुगेको छ।