चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान उत्पादनबारे विमर्श

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

चीन र दक्षिण एसियाली क्षेत्रमा उत्पादन भएका ज्ञान विमर्शबारे आज अन्तराष्ट्रिय सम्बन्धका विज्ञहरूबिच चर्चा भएको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध (आइआर) तथा कूटनीतिक विभागमा आज भएको विचार विमर्शमा विज्ञहरूले विकासको दीर्घकालीन आधार ज्ञान र खोज रहेको निष्कर्ष निकालेका थिए । 

काठमाडौं इन्स्टिच्युट अफ रिसर्च एन्ड कन्सल्टेन्सी (केआइआरसी)को आयोजनामा त्रिभुवन विश्वविद्यालय सेन्टरल डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी (सिडिआइआरडी) को सहकार्यमा ‘रिजनल डाइलग अन नलेज प्रडक्सन अन साउथ एसिया इन चाइना’ शीर्षकमा छलफल भएको थियो ।

दिल्ली विश्वविद्यालयका ‘इस्ट एसिया स्टडिज’ विभागका प्राध्यापक डा. राजीव रञ्जन र चीनस्थित सिचुआन युनिर्भसिटीका पिएचडी स्कलर प्रशान्तकुमार विकबिच दक्षिण एसिया र चीनको भू–राजनीतिबारे विचार विमर्श भएको थियो। मध्यस्तकर्ताकाे भूमिका निर्वाह गरेका विकले प्राध्यापक रञ्जनसँग कुनै पनि विचार उत्पादनले मुलुकको सम्बन्धमा पार्ने प्रभावबारे जिज्ञासा राखेका थिए ।

यसै क्रममा प्राध्यापक रञ्जनले ज्ञानको विविधताले समाज, देश र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा रचनात्मक भूमिका खेल्ने बताए। यसका लागि हरेक राज्यले ज्ञान उत्पादन प्रक्रियामा पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे। उनले प्राचीनकालदेखि नै चीनमा ज्ञान उत्पादनको सुन्दर अभ्यास रहेको उदाहरण दिँदै उनले  ज्ञान विमर्शकै कारण त्यस देशको नीतिगत सुधार कुशल देखिएको बताए । 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका प्राध्यापक डा. खड्ग केसीका अनुसार भारत र चीनले ज्ञान उत्पादन गर्न रणनीतिक रूपमा लगानी गर्दै आएको बताए। यससँगै राष्ट्रिय स्वार्थ मध्यनजर गर्दै नेपालले पनि ज्ञान उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । 

सेन्टरल डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी विभागका प्रमुख अपेक्षा शाहले युवा पुस्ताबिच विचार विमर्श संस्कृतिको विकास गर्न विभागले नियमित छलफल गर्दै आएको बताए। कार्यक्रममा काठमाडौंं इन्स्टिच्युट अफ रिसर्च एन्ड कन्सल्टेन्सी (केआइआरसी) का सह–संस्थापकले चन्दन तामाङले बौद्धिक संस्कृतिको विकास अहिलेको आवश्यकता रहेको बताए।

केआइआरसी अपरेसन डाइरेक्टर याइसास यासिर खम्बूले अन्तर्राष्ट्रिय सम्बन्धको विषय अध्ययन गर्ने विद्यार्थीले बौद्धिक संवादमार्फत निश्चित विषयमा अभिमत निर्माण गराउने उद्देश्यले छलफलमा कार्यक्रम आयोजना गरिएको बताए। आइआर अध्ययनरत विद्यार्थी सुमी शर्माले धेरैभन्दा धेरै वैचारिक अन्तर्क्रियाले ज्ञानको दायरा फराकिलो बनाउन र विषयवस्तु बुझ्न सहज हुने बताए।

सुझावित समाचार