व्यक्ति हत्या र संगठित अपराधसम्बन्धी छुट्टाछुट्टै मुद्दामा पक्राउ गरिएका दुईजना प्रतिवादी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सिराहा कारागार चलान भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका- १ का प्रेमनाथ यादवको हत्यामा संलग्न रहेका स्थानीय पूर्वशिक्षक उपेन्द्र यादव र स्थानीय पुजारीको ज्यान मार्ने उद्योग तथा संगठित अपराधसम्बन्धी मुद्दामा सिराहाका औरही गाउँपालिका ५ का ५५ वर्षीय हरि ठाकुरलाई पुर्पक्षका लागि शुक्रबार सिराहा जिल्ला अदालतको आदेशमा सिराहा कारागार चलान गरिएका हुन्।
पारिवारिक रिसइबी र मनमुटावका कारणले सिराहा नगरपालिका- ७ स्थित बाँसघारीमा भारतीय सुटर परिचालन गरी १६ माघको अपराह्न प्रेमनाथको हत्या भएको प्रहरीले जनाएको छ। उक्त घटनाको अनुसन्धानका क्रममा पूर्वशिक्षक यादवलाई प्रहरीले गत २७ वैशाखमा पक्राउ गरी थप अनुसन्धान गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
दुवै घटना पारिवारिक रिसइबी कारण
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट प्राविधिक विज्ञसहितको टोली, पर्सा वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको सहयोग तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुखको निर्देशनअनुसार विभिन्न कोणहरूबाट सूचना संकलन तथा सूक्ष्म विश्लेषणसहित अनुसन्धान गरिएको उनले बताए।
मृतकका परिवारसँग पछिल्लो करिब चार वर्षदेखि पारिवारिक रिसइबी र मनमुटाव रहेका अभियुक्त यादवले बदलास्वरूप भारतीय सुटरलाई तीन लाख रुपैयाँको सुपारी डिल गरी हत्याको योजना बनाएपछि पेस्कीस्वरूप तत्काल एक लाख रुपैयाँ दिइसकेको र दुई लाख रुपैयाँ अझै दिन बाँकी खुल्न आएको प्रहरीले जनाएको छ।
सिराहा- ७ स्थित खेतबाट मृतकका सहोदर भाइ अभयनाथ यादवले चलाएको बकेट जडान गरिएको मधेश प्रदेश ०१–००१ त २९५६ नम्बरको ट्याक्टरले उठाएको माटो स. १ त ५७९४ नं. को ट्याक्टरमा हालेर चालकसहित खान घर गएका वेला प्रेमनाथमाथि अपराह्न करिब साढे ३ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। बकेट जडान गरिएको ट्याक्टर खेतमै छोडेर भाइ चालक सन्तोष शर्मासँगै खान घरतिर हिँडेपछि प्रेमनाथको गोली प्रहार गरी हत्या भएको हो।
त्यस्तै, गत ४ माघको राति सीमावर्ती औरही गाउँपालिका- ५, जितिया मन्दिरका पुजारी श्यामसुन्दर शर्मा कोठाको चुकुल लगाएर सुतिरहेको अवस्थामा ठाकुरले ५० हजार रुपैयाँमा मगाएका भारतीय सुटरमार्फत ज्यान मार्ने उद्देश्यले झ्यालबाट गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनुसन्धानको क्रममा पारिवारिक रिसइबी र विवादको कारणले ठाकुरले भारतीय सुटर प्रयोग गरेको खुलेपछि गत २७ वैशाखमा सिराहा- १ स्थित हनुमान चोकबाट पक्राउ गरी थप अनुसन्धान गरिएको थियो।