२१ विद्यालयका तीन हजार आठ सय बालबालिकाको दिवा खाजा एउटै भान्सामा

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

धनगढी उपमहानगरभित्र रहेका २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषणयुक्त दिवा खाजा खुवाउन एकीकृत भान्सा घर सञ्चालन हुन लागेको छ । आगामी १ साउनबाट सञ्चालन हुने एकीकृत भान्साघरको शनिबार उद्घाटन गरिएको छ ।

धनगढी–७, मनेहरामा सञ्चालनमा ल्याइएको भान्साघरमा धनगढीको वडा नम्बर १ देखि ८ सम्मका ११ वटा आधारभूत विद्यालय र १० वटा माविमा अध्ययनरत तीन हजार ७९५ जना विद्यार्थीका लागि दिवा खाजा तयार हुने छ । उक्त दिवा खाजा हरेक दिन गाडीमार्फत विद्यालयहरुमा पुर्याएर बालबालिकालाई वितरण गरिने उपमहानगरले जनाएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले भवन मर्मत, भाडाकुडालगायत सामान खरिद, गाडी खरिद, विद्युतको लाइन जगाडनसमेत गरी दुई करोड ४५ लाख ३३ हजार रुपैयाँको लागतमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको जानकारी दिए । भमन्साघरमा विश्व खाद्य कार्यक्रमले ८६ लाख रुपैयाँको लागतमा उपकरणहरु जडान गरिदिएको उनले जानकारी दिए ।

एकीकृत भान्सारघर फुड फर लाइफ नामक सामाजिक संस्थाले सञ्चालन गर्ने छ । यो संस्थाले काठमाडौँ उपत्यकाका तीनवटा पालिकामा एकीकृत भान्सारघर सञ्चालन गर्दै आएको छ । फुड फर लाइफका कार्यकारी व्यवस्थापक चिरञ्जीवी दाहालले आधुनिक उपकरण र प्रविधिबाट तयार पारिने पोषणयुक्त गुणस्तरी दिवा खाजा बालबालिकालाई वितरण गरिने बताए । 

सरकारले दिवा खाजाका लागि प्रतिबालबालिका २० रुपैयाँ विद्यालयहरुलाई उपलब्ध गराउँदै आएको छ । त्यसमा नपुगेको रकम संस्थाले दातृ निकायको सहयोग खोजेर व्यवस्थापन गर्ने दाहालले जानकारी दिए ।

नगर प्रमुख हमालले दिवा खाजा व्यवस्थापन सामुदायिक विद्यालयमा समस्याका रुपमा रहेको उल्लेख गर्दै आगामी वर्ष नगरका अन्य वडाहरुमा पनि एकीकृत भान्साघरको अवधारणा विस्तार गरिने बताएका छन् । एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवाखाजामार्फत् सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा सुधार हुनुका साथै यसले बिचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा गरिएको उनले बताए ।

धनगढी उपमहानरको शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकले एकीकृत भान्साघरमा तयार भएको पोषणयुक्त दिवा खाजा २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार ७९५ बालबालिका विद्यालयमै पुर्याएर दैनिक वितरण गरिने जानकारी दिए । उपमहानगरले सामुदायिक विद्यालयहरु सुधार गर्न शिक्षालाई गौरवको कार्यक्रमका रुपमा राखेर बजेटको एक तिहाए हिस्सा शिक्षामा खर्च गरिरहेको पनि उनले जानकारी दिए ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको प्रयासस्वरुप नमुना विद्यालय, विद्यार्थीलाई छात्रवृत्ति वितरणलगायतका कार्यक्रम उपमहानगरले सञ्चालन गर्दै आएको बडायकले बताए । सामुदायिक विद्यालयहरुले दिवा खाजा व्यवस्थापनमा कहीँ भान्सा नहुँने, कहीँ भाडाकुडा नहुने, कहीँ भान्से नहुनेजस्ता समस्या भोग्दै आएको उल्लेख गर्दै उनले एकीकृत भान्साघरको अवधारणाले विद्यालयहरुमा दिवा खाजा व्यवस्थापन गर्न सहज हुने बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष मोति रानाले नजिकको विद्यालयमा समायोजन गरिएको नजज्योति प्राविको भवनमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको जानकारी दिए । शनिबार बिहान आयोजित एक समारोहमा वडाध्यक्ष रानाले एकीकृत भान्साघरको उद्घाटन गरेका हुन् ।
 

सुझावित समाचार