- अहिलेसम्म सात भिडन्तमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पाँच खेलमा हराएको छ । उनीहरूबिच पछिल्लो भेट सन् २०१० को विश्वकपमा भएको थियो ।
उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले शनिबार स्विट्जरल्यान्डको सामना गर्दै छ । चालू फिफा विश्वकपमा अर्जेन्टिनाले पछिल्ला दुई नकआउट चरणमा कठिन जित निकाल्दै अन्तिम आठको स्थान पक्का गरेको थियो । राउन्ड अफ ३२ मा नवप्रवेशी केप भार्डेविरुद्ध ३–२ र इजिप्टमाथि ३–२ कै स्कोरमा जित निकाली अर्जेन्टिना अगाडि बढेको हो । यी दुवै खेलमा साबिक विजेताले जित निकाल्न निकै मिहिनेत गर्नुपरेको थियो । इजिप्टमाथि जितमा जित निकाल्दा अर्जेन्टिनालाई रेफ्रीको सहयोग पाएको आरोप छ ।
विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने अर्जेन्टिना मात्र एक्लो दक्षिण अमेरिकी टोली हो । यसअघि प्रिक्वार्टरफाइनलसम्म अन्य ल्याटिन अमेरिकी टोलीहरू घर फर्कि{ए । अब कन्सास सिटी मैदानमा अर्जेन्टिनाले युरोपियन प्रतिद्वन्द्वी स्विट्जरल्यान्डविरुद्ध सतर्कता अपनाउनेछ ।
इजिप्ट र केप भार्डेसँगको खेलमा हल्का डिफेन्स लाइन खुला राख्दा अर्जेन्टिनाले गोल व्यहोरेको थियो । युरोपकै अनुभवी टोली स्विट्जरल्यान्डसँगको खेलमा यस्तै गल्ती दोहोर्याउँदा उसले ठुलै मूल्य चुकाउनुपर्ने हुन्छ । किनभने, स्विट्जरल्यान्ड अनुभवी राष्ट्र हो । स्विट्जरल्यान्डले विपक्षीको रणनीतिअनुसार प्रतिस्पर्धा गर्न सक्छ ।
अर्जेन्टिना फिफा वरीयताको शीर्ष र स्विट्जरल्यान्ड १९औँ स्थानमा छ । यी दुई टोलीबिच सात खेल भएको छ । अर्जेन्टिनाले पाँच खेलमा जित तथा दुई बराबरी नतिजा निकालेको छ । उनीहरूले सन् २०१० को विश्वकपमा अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । जसमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । समग्रमा अर्जेन्टिनाले स्विट्जरल्यान्डको पोस्टमा १५ गोल गरेको छ ।
स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध तीन गोल मात्र गरेको छ । लियोनल स्कोलानीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० तथा जोर्डनलाई ३–१ ले हराएको थियो । मेसीले प्रतियोगितामा कीर्तिमान बनाउँदै गएका छन् । उनी विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने खेलाडी हुन् । ३९ वर्षमा ह्याट्रिक (अल्जेरिया)विरुद्ध गोल गर्ने एक्ला खेलाडी हुन् । समग्र विश्वकपमा उनको गोल संख्या २१ पुगेको छ । उत्कृष्ट फर्ममा रहेका मेसीलाई रोक्नु स्विट्जरल्यान्डलाई चुनौती हुनेछ ।
मुरात याकिनको प्रशिक्षणमा रहेको स्विट्जरल्यान्ड अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने योजनामा छ । कप्तान ग्रानिट जाका, म्यानुएल एकान्जी, रुवेन भार्गोस, फाविअन रिडर, ब्रेल इम्बोलो यस्तो नतिजा निकाल्न तयार छन् ।
स्विट्जरल्यान्डले अन्तिम १६ को खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराएको थियो । उसले ७२ वर्षपछि क्वार्टरफाइनलमा स्थान बनाएको हो । त्यसअघि नकआउटमा अल्जेरियालाई २–० ले हराएको स्विट्जरल्यान्डले समूह चरणमा क्यानडालाई २–१ र बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले हराएको थियो ।
प्लेयर्स टु वाच
लाउटारो मार्टिनेज (अर्जेन्टिना)
कप्तान लियोनल मेसीपछि मैदानमा प्रभावशाली प्रदर्शन गरेका स्ट्राइकर मार्टिनेज हुन् । उनले चालू विश्वकपमा पाँच खेलमा अवसर पाएका छन् । प्रशिक्षक स्कोलारीले दोस्रो विश्वास गरेका फिनिसरमा उनी पर्छन् । विश्वकपमा उनले एक गोल गर्नुका साथै एकपटक असिस्ट गरेका छन् । आवश्यकता परेका वेलामा उनी मिडफिल्डको भूमिका निर्वाह गर्न सक्छन् । विपक्षीको डिफेन्स लाइन सहज भत्काउन सक्ने खुबी भएका मार्टिनेजले स्विट्जरल्यान्डविरुद्ध यस्तै प्रदर्शन गर्ने अपेक्षा छ । व्यावसायिक रूपमा उनी सिरिए क्लब इन्टर मिलानमा आबद्ध छन् ।
ग्रानिट जाका (स्विट्जरल्यान्ड)
अर्जेन्टिनाविरुद्धको प्रतिस्पर्धामा स्विट्जरल्यान्डका स्ट्राइकर जाका प्रभावशाली बन्न सक्छन् । अर्जेन्टिनाको उतारचढावपूर्ण डिफेन्स लाइनमा जाका हाबी हुन सक्ने अपेक्षा छ । ३३ वर्षीय जाकाले पछिल्लो समय इंग्लिस क्लब सन्डरल्यान्डबाट खेलिरहेका छन् ।
एट्याकिङ भूमिका रहे पनि उनको नराम्रो बानी छिट्टै रिसाउने हो । यसैकारण उनले विश्वकपमा दुई पहेँलो कार्ड पाइसकेका छन् । अर्जेन्टिनासँगको खेलमा यस्तै कार्ड पाउँदा उनले सेमिफाइनल खेल गुमाउन सक्छन् । यसैकारण साबिक विजेताविरुद्ध उनले सम्हालिएर खेल्नुपर्छ । जाकाले बोस्नियाविरुद्ध एक गोल गरेका थिए ।