विपक्षी दलहरूले राज्यप्रणालीका कारण गणेश नेपालीजस्ता युवाहरूले आत्मदाह गर्ने स्थिति आएको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् । प्रमुख विपक्षी कांग्रेससहित एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सरकारको गैरजिम्मेवार र गलत कामकै कारण घटना भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।
कांग्रेस सभापति गगन थापाले विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको र सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन् । ‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको विन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ,’ थापाले भनेका छन् । साथै उनले घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको भन्दै एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएको प्रस्ट्याएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ गाँस र बास खोस्न उद्यत रहेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रेस विज्ञप्तिमार्फत उनले पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा अघि सारेर सत्तामा पुगेको सरकारले शृंखलाबद्ध जनविरोधी कार्य गरिरहेको बताए । साथै उनले दोषीलाई कारबाही हुनुपर्नेमा पनि जोड दिएका छन् ।
‘पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा अघि सारेर, जनमत बटुली सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृंखलाबद्ध जनविरोधी कार्यहरूका कारण जनसमक्ष पूर्ण रूपमा नांगिँदै गएको छ । आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय विषय हो,’ पोखरेलले भनेका छन् । त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि उनको माग छ ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेका छन् ।
लोकतान्त्रिक मुलुकमा यस्ता दुःखद घटना हुनु हाम्रो लोकतान्त्रिक अभ्यास र राज्यको चरित्रमाथि गम्भीर प्रश्न उठाउने विषय भएको भन्दै उनले आत्मदाहको प्रयासपछि पनि उनको जीवनरक्षा र घटनाको संवेदनशीलता बुझेर मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायहरूबाटै उनीमाथि बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने र घिसारेर हिँडाउनेजस्ता अमानवीय व्यवहार गरिनु र निधन भइसकेपछि पनि वास्तविकता सार्वजनिक नगर्नुले घटना अझ हृदयविदारक बन्न पुगेको ज्वालाले बताए ।
नेकपाले धरातलीय यथार्थमा उभिएर आमनागरिकका समस्याप्रति संवेदनशील बन्न, विशेषगरी बेरोजगार युवा, सुकुमवासी, भूमिहीन, मिटरब्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढंगले सम्बोधन गर्न माग गरेका छन् ।
राप्रपाले घटनालाई भुइँ मान्छेको अपेक्षामाथि कुठराघात भएको प्रतिनिधि घटनाका रूपमा चित्रण गरेको छ । ‘गणेशको निधन उज्यालोको आशामा बसेका भुइँमान्छेको अपेक्षामाथि कुठाराघात भएको प्रतिनिधि घटना हो । यो परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने । उनले दोषीमाथि तत्काल कारबाही हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘गोली चलाएर मार्ने पहिलेको सरकार र फाइन चलाएर अनि डोजर चलाएर मार्ने सरकारमा के फरक छ ?’ भन्दै सामाजिक सञ्जालबाट सरकारमाथि गम्भीर प्रश्न गरेका छन् ।
त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घटना लोकतान्त्रिक एवं कानुनी राज्यका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन् ।
‘एउटा व्यक्तिको मृत्युमा परिवारले आफ्नो सदस्य मात्र गुमाउँदैन, समाजले एउटा सक्रिय नागरिक गुमाउँछ र राज्यले आफ्ना नागरिकप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्नको सामना गर्नुपर्छ,’ अध्यक्ष यादवको वक्तव्यमा उल्लेख छ । अध्यक्ष यादवले उक्त घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगका रूपमा टार्न नहुने उल्लेख गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि तथा त्यसतर्फ पुर्याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन् ।