अनलाइन जुवा र सट्टेबाजी खेलाउने आठ पक्राउ

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

कास्की प्रहरीले अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने आठजनालाई पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र सातजना भारतीय नागरिक रहेका छन् । 

पोखरा महानगरपालिका– १८, सेदीस्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा ब्याटिङ खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच एवं खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको कास्की प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

प्रहरीले उनीहरूलाई अनलाइन जुवा तथा सट्टेबाजी खेलाइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरूमा जिल्ला दार्चुला घर भई हाल पोखरा– १८, सेदी बस्ने वर्ष ३१ का दिनेशसिंह बोहरा रहेका छन् भने भारत भुपा मानपुर स्थायी घर भई हाल पोखरा– १८, सेदी बस्ने वर्ष ३४ का सत्यम सिंह, वर्ष २४ का हर्ष उसरेटे, वर्ष २३ का विशाल चाउ, वर्ष २२ का जमानसिं तमार, वर्ष २७ का विक्रान सिंह, वर्ष २६ का अजितेशकुमार मिश्र र वर्ष २४ का सत्यम राजपूत रहेका छन् । 

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा तीन महिनाअघि १८ चैत ०८२ मा उनीहरूले १८ सेदीमा सफट्वेयरको काम गर्ने भनी घर भाडामा लिएका थिए । सात कोठा भएको सो घरमा त्यसपछि उनीहरूले खाने, बस्ने, गेम खेलाउनेलगायतको कार्य गर्दै आएका थिए ।  उनीहरूले वाट्सअप, टेलिग्रामलगायतका विभिन्न ग्रुपहरूबाट मोबाइलमा  gurubhai247.pro नाम गरेको लिंक पठाउने र डिपोजिटबापतको रकम जम्मा गर्न लगाउने गरेको, रकम पठाएपछि रजिस्ट्रेसन गरी खेल खेलाउने/सट्टेबाजीमा लगाउने गरेको, क्रिकेट, फुटबल क्यासिने खेलहरूमा सट्टेबाजी गराउने र हारजित भएपछि जित्नेहरूको रकम जम्मा गरिदिने गरेको भेटिएको कार्कीले बताए।

दैनिक भारतीय तीन–चार लाख आम्दानी  

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ कमाउने गरेको, भारतीय नागरिकहरूको बैंक खाताहरू भाडामा प्रयोग गर्ने गरेको, अनलाइनबाटै रकम भुक्तानी तथा जम्मा गर्ने गरेको, मुख्य सञ्चालन भारतीय रहेको भए पनि नाम नखुलेको, पोखरामा सञ्चालनमा रहेको यो २७औँ शाखा रहेको, फरक–फरक तीनवटा कम्प्युटरको लेजर सिट हेर्दा एउटामा एक करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, अर्कोमा नौ करोड दुई लाख २२ हजार २६ रुपैयाँ र अर्कोमा १० करोड ५५ लाख ६८ हजार ६९० अर्थात् २० करोड ६९ लाख ८९ हजार ८३५ क्रेडिट भएको देखिएको कार्कीले बताए ।

यी सामानहरू भए बरामद

प्रहरीले सो घरबाट विभिन्न कम्पनीका सात थान ल्यापटप, विभिन्न कम्पनीका ६ थान मनिटर, विभिन्न कम्पनीका ३१ थान मोबाइल, किबाेर्ड नौ थान, मल्टिप्लग चार थान, १२ भोल्टको ब्याट्री एक थान, युपिएस एक थान, राउटर दुई थान, विभिन्न कम्पनीका चार्जर १६ थान, भारतीय सिमकार्ड ३४ थान बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

सुझावित समाचार