बागमती प्रदेशलाई औपचारिक रूपमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ प्रदेश घोषणा गरिएको छ । हेटौँडामा शुक्रबार आयोजित विशेष समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै बागमती कर्णाली र गण्डकीपछि सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा हुने तेस्रो प्रदेश बनेको छ । सामाजिक विकास मन्त्रालय र मानवसेवा आश्रमको सहकार्यमा सञ्चालन हुँदै आएको अभियानले सडकमा कष्टकर जीवन बिताइरहेका असहाय नागरिकको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापनाको प्रयासलाई संस्थागत रूप दिएको छ ।
घोषणा कार्यक्रममा मुख्यमन्त्री बानियाँले घोषणा मात्रै अन्तिम उपलब्धि नभई यसको निरन्तर कार्यान्वयन सबैभन्दा ठुलो चुनौती भएको बताए । उनले प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त अवस्थामै कायम राख्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तह, सामाजिक संघसंस्था, सुरक्षा निकाय तथा नागरिक समाजलाई समेत अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
‘घोषणा गरेर मात्रै हुँदैन । यसलाई निरन्तरता दिन सबैको साझा जिम्मेवारी छ । बागमती प्रदेश सरकार आफ्नो दायित्व पूरा गर्न तयार छ,’ उनले भने, ‘अन्य सरोकारवालाले पनि उत्तिकै जिम्मेवारीका साथ काम गर्नुपर्छ ।’
मानवसेवा आश्रमलाई बजेटमा आठ गुणा वृद्धि
मुख्यमन्त्री बानियाँले सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार तथा पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मानवसेवा आश्रमलाई प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उल्लेखनीय रूपमा बजेट बढाएको जानकारी दिए ।
चालू आर्थिक वर्षमा आश्रमलाई २५ लाख रुपैयाँ उपलब्ध गराएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उद्धार, उपचार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट वृद्धि गरिएको हो।
यसैगरी संघीय सरकारले पनि गत आर्थिक वर्षदेखि आश्रममा आश्रित प्रत्येक व्यक्तिको पालनपोषणका लागि प्रतिव्यक्ति मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । आश्रमका अनुसार यसले आश्रितहरूको दैनिक व्यवस्थापनमा ठुलो राहत पुगेको छ ।
हेटौँडाबाट सुरु भएको अभियान देशव्यापी
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार हेटौँडा– ९, लामसुरेधापबाट १४ वर्षअघि सुरु भएको अभियान अहिले देशव्यापी सामाजिक अभियानका रूपमा विस्तार भएको छ ।
हाल आश्रमले २३ जिल्लाका ३४ स्थानमा शाखा सञ्चालन गरिरहेको छ । बागमती प्रदेशमा मात्रै मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङलगायत १० जिल्लामा सेवा विस्तार भइसकेको छ ।
शुक्रबारसम्म बागमती प्रदेशका १० वटा आश्रममा ३३२ महिला र ५७९ पुरुष गरी ९११ जना आश्रित रहेका छन्। मानवसेवा आश्रमको केन्द्रीय कार्यालय रहेको हेटौँडामा मात्रै २५० जनाले आश्रय लिइरहेका छन् ।
अध्यक्ष अधिकारीका अनुसार स्थापना भएयता मानवसेवा आश्रमले बागमती प्रदेशका विभिन्न जिल्लाबाट एक हजार सात सयभन्दा बढी सहयोगापेक्षी व्यक्तिको उद्धार गरिसकेको छ । उद्धार गरिएकामध्ये धेरैलाई उपचारपछि परिवारसँग पुनर्मिलन गराइएको छ । उनका अनुसार देशभरबाट उद्धार गरिएका पाँच हजारभन्दा बढी वृद्धवृद्धालाई परिवारमै पुनर्स्थापना गरिएको छ । ‘हाम्रो उद्देश्य केवल आश्रय उपलब्ध गराउनु होइन। सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराएर सम्मानपूर्ण जीवनमा फर्काउनु हो,’ उनले भने ।