गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न नेकपाको माग

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। घटनाबारे दुःख व्यक्त गर्दै नेकपाले पीडित परिवारलाई उचित राहतसहित न्याय दिन माग गरेको हो।

राज्यका निकायको नालायकी र असंवेदनशील व्यवहारबाट  दुःखी, निराश र आक्रोशित भई गणेशले आत्मदाह गर्न बाध्य भएको भन्दै नेकपाले  यस्ता घटनाले लोकतान्त्रिक अभ्यास र राज्यको चरित्रमाथि गम्भीर प्रश्न उठाउने औँल्याएको छ। 

‘अझ आत्मदाहको प्रयासपछि पनि उनको जीवनरक्षा र घटनाको संवेदनशीलता बुझेर मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायहरूबाटै उनीमाथि बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने र घिसारेर हिँडाउनेजस्ता अमानवीय व्यवहार गरिनु र निधन भइसकेपछि पनि वास्तविकता सार्वजनिक नगर्नुले यो घटना अझ हृदयविदारक बन्न पुगेको छ’ विज्ञप्तिमा उल्लेख छ।

राज्यले भुइँतहका नागरिकको पीडा नसुन्दा एकातिर गणेशजस्ता नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न विवश भएका र अर्कोतर्फ हजारौँ सुकुमवासी, भूमिहीन, श्रमिक तथा विपन्न नागरिक मर्नु न बाँच्नुको अवस्थामा जीवन बिताउन बाध्य भएका नेकपाले बताएको छ।

नेकपाले धरातलीय यथार्थमा उभिएर आमनागरिकका समस्याप्रति संवेदनशील बन्न सरकारसँग माग गरेको छ।

सुझावित समाचार