नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बागमती र धोबीखोला किनारका सुकुमवासीहरूलाई विनावैकल्पिक व्यवस्था विस्थापित गरिएको र मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर सरकारको कडा आलोचना गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले वर्तमान सरकार निर्मम र अमानवीय भएको टिप्पणी गर्दै राज्य चरम असफलताको दिशामा अघि बढेको बताइन्।
सांसद गुरुङले बागमती किनारबाट उठाइएका सुकुमवासीहरूलाई होल्डिङ सेन्टरमा लगेर पानी र खानासमेत बन्द गरिएको भन्दै आक्रोश व्यक्त गरिन्। ‘लाग्छ, सरकार उसवेलाको जर्मनीको तानाशाह शासक सम्झाउने कुनै च्याम्बर त निर्माण गर्दै छैन ? जबर्जस्ती काठमाडौं ल्याएर छाडिदिएपछि अब कहाँ जाने, के गर्ने भन्दै सुकुमवासी दाजुभाइ दिदीबहिनीहरूको आर्तनादले सिंगो नेपाली समाजलाई झस्काएको छ,’ उनले भनिन्।
मुगुका गणेश नेपालीको आत्मदाह घटनालाई जोड्दै सांसद गुरुङले श्रम गरेर बाँचिरहेका नेपालीको अवस्था दयनीय बन्दै गएको बताइन्। उनले विगतमा प्रेम आचार्यले संसद् भवनअगाडि आत्मदाह गर्दा वर्तमान प्रधानमन्त्रीले नै सामाजिक सञ्जालमा लेखेको अभिव्यक्ति स्मरण गराइन्।
‘प्रधानमन्त्रीज्यू, गणेश नेपालीको घटनामा तपाईंकै शब्द सापटी लिएर भन्छु– यो घटनाको मुख्य कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। असफल भएर के यस्तै शासन चलाइरहने हो ? गरिब र श्रम गरेर खानेहरूलाई कहिलेसम्म बागमती र धोबीखोलामा हेलिएर आत्महत्याका लागि बाध्य बनाइरहने ?’ उनले प्रश्न गरिन्।