कुनै पनि तर्कले गुमेको मान्छेको जीवनको क्षतिपूर्ति तिरिँदैन, रोक्नेतर्फ ध्यान दिऊँ : सांसद कार्की

घटनाका कारण कानुन वा राज्यका नीति हुन् भने त्यसको जिम्मेवारी कानुन बनाउने संसदले लिनुपर्छ

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले  कुनै पनि तर्कले गुमेको मान्छेको जीवनको क्षतिपूर्ति गर्न नसक्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मानव जीवनभन्दा ठुलो कुनै पनि तर्क नहुने उल्लेख गर्दै मृत्युलाई सही ठहर गर्न कसैसँग पनि नैतिक अधिकार नरहेको धारणा राखे।

सांसद कार्कीले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको १० हजार रुपैयाँ जरिवानासम्बन्धी बहसभन्दा पनि एउटा व्यक्तिले किन जीवन गुमाउनुपर्यो भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताए। उनले  घटनालाई भावनात्मक बनाउनेभन्दा पनि यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक नीतिगत र कानुनी सुधारमा ध्यान दिनुपर्ने समय आएको उल्लेख गरे । 

उनले गणेश नेपालीको मृत्युको प्रसंग उल्लेख गर्दै यस्ता घटनामा पीडितले न्याय नपाउने अवस्था अन्त्य गर्नुपर्ने बताए। साथै, देशमा दैनिक करिब १८ जनाले आत्महत्या गर्ने र करिब ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्यांक स्मरण गराउँदै यसको पछाडि सामाजिक, मनोसामाजिक, मानसिक स्वास्थ्य तथा आवेगजस्ता कारणहरू रहेको उल्लेख गरे।

कार्कीले यदि कानुन वा राज्यका नीतिहरू पनि यस्ता घटनाका कारणमध्ये हुन् भने त्यसको जिम्मेवारी कानुन बनाउने संसद्ले लिनुपर्ने बताए। ‘अर्को गणेश नेपाली बन्नबाट कसरी रोक्ने भन्ने विषयमा संसदमा गम्भीर छलफल आवश्यक छ,’ उनले भने।

सांसद कार्कीले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो भागमा पर्ने जिम्मेवारी र कमजोरी स्वीकार गर्ने बताएका छन्।

सुझावित समाचार