सांसद साजित खातुन सिद्दिकीले सरकारमा मानवता हराउँदै गएको आरोप लगाएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिद्दिकीले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै नागरिकमा बढ्दो निराशा, सुशासनको अभाव र मानव अधिकारको अवस्थाबारे गम्भीर प्रश्न उठाएकी छिन्।
उनले राहदानी विभागअगाडि गणेश नेपालीले गरेको आत्मदाहको प्रयास र त्यससँग जोडिएको घटनालाई राज्यको चरम असफलताको संकेत भएको बताइन्। यस्ता घटनाले सरकार र सम्बन्धित सबै निकायलाई गम्भीर रूपमा सचेत गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
सुकुमवासी, युवा, महिला, ज्येष्ठ नागरिक तथा बालबालिकालगायत सबै वर्गका नागरिकको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै उनले समाजमा मानवता हराउँदै गएको संकेत देखिएको बताइन्। ‘सरकारमा मानवता हराउँदै गएको छ, तर अझै पनि सुशासनको नारा लगाइँदै छ। के यही सुशासन हो ? के यही मानवता हो ?’ भन्दै उनले प्रश्न गरिन्।
उनले सरकार नागरिकको साझा हितमा केन्द्रित भएर काम गर्नुपर्ने, मानव अधिकारको सुनिश्चितता गर्नुपर्ने र जनताको पीडा बुझ्नुपर्नेमा जोड दिइन्। सरकार क्रूर बन्न नहुने भन्दै उनले नागरिक बाँच्नसमेत डराउनुपर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक शासनका लागि गम्भीर चिन्ताको विषय भएको बताइन्।
जनताको विश्वास कायम राख्न सरकार उत्तरदायी, संवेदनशील र जनमुखी बन्नुपर्ने आवश्यकता औँल्याउँदै नागरिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकारलाई प्रभावकारी कदम चाल्न उनले आग्रह गरिन्।