कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी साउन महिनादेखि भूमि प्रशासनसम्बन्धी सेवा दिन सुरु गर्ने भएको छ । जग्गाको कित्ताकाट तथा कित्ता एकीकरणलगायत जग्गासम्बन्धी सेवा नगरवासीले अब धनगढी उपमहानगरबाट पाउनेछन् । यसअघि यी काम नापी र भूमि प्रशासन कार्यालयबाट हुँदै आएका थिए ।
सेवा सुरुवात गर्नका लागि उपमहानगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीलाई तालिम दिन थालिएको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलको सहयोगमा शुक्रबारबाट तालिम सुरु भएको छ । धनगढी उपमहानगरमा पाँच दिनसम्म सञ्चालन हुने तालिममा उपमहानगरका २० जना र कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका चारजना कर्मचारी सहभागी छन्। तालिमपछि बेल्डाँडी गाउँपालिकाले पनि भूमि प्रशासनसम्बन्धी सेवा दिन सुरु गर्ने बताइएको छ ।
तालिमका प्रशिक्षकसमेत रहेका भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलका निर्देशक सञ्जय मानन्धरले भू–सूचना प्रणाली, नापनक्सा प्रणाली, भूमिसम्बन्धी विद्युतीय प्रणाली, मोबाइलबाटै आफूले चाहेको जग्गाको नक्सा प्रिन्ट गर्न सक्ने मेरो नक्सालगायत विषयमा कर्मचारीको क्षमता अभिवृद्धि गरिने जानकारी दिए ।
त्यस्तै, भूमि प्रशासनसँग सम्बन्धित विद्युतीय प्रणाली, जग्गा रजिस्ट्रेसन प्रणालीलगायत विषयमा प्रशिक्षण सञ्चालन हुने उनले बताए । निर्देशक मानन्धरले देशभरमा हाल सातवटा पालिकाले भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरिसकेको जानकारी दिए । सुदूरपश्चिममा भने हालसम्म कुनै पनि पालिकाले भूमिसम्बन्धी सेवा सुरु गरेका छैनन् ।
तालिम उद्घाटन कार्यक्रममा नापी कार्यालय कैलालीका प्रमुख केशवराज लेखक र भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख लक्ष्मण कठायतले जग्गा प्रशासन सेवा सुरु गर्न आ–आफ्नो कार्यालयबाट आवश्यक प्राविधिक सहयोग गर्ने बताए ।
धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले काम सुरु गर्दा मात्र आइपर्ने समस्या थाहा हुने भएकाले सेवा सुरु गरेको तीन–चार महिनापछि पुनः तालिम सञ्चालन गरिदिन प्रतिष्ठानलाई आग्रह गरे । सेवा सुरुसँगै दायित्व पनि थपिने उल्लेख गर्दै उनले तालिमपछि जिम्मेवार भएर सेवा प्रवाह गर्न कर्मचारीहरूलाई आग्रह गरे ।