बर्दियाको राजापुर नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत सिलबन्दी दरभाउको सूचना प्रकाशन गरेर खरिद गर्ने गरिएको पाइएको छ । पालिकाले सार्वजनिक खरिद ऐन संशोधन हुनुभन्दा पहिला खरिद ऐनविपरीत सिलबन्दी दरभाउको सूचना प्रकाशन गरेर खरिद गर्ने गरिएको पाइएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० मा सिलबन्दी दरभाउको सूचना प्रकाशन गर्दा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने प्रस्ट व्यवस्था रहेको थियो । सरकारले १७ वैशाख ०८३ मा सार्वजनिक खरिद ऐन संशोधन गरेपछि सिलबन्दी दरभाउको सूचना प्रकाशन गर्नुपर्ने अवधि घटाएर सात दिन बनाएको छ । पालिकाले खरिद ऐन संशोधन हुनुभन्दा पहिला पालिकाले ९ असोज ०८२ मा हिउँदे घाँस ( वर्सिमको बिउ) खरिद र ४ माघमा कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने बेतका सामग्री खरिद गर्नका लागि १५ दिने सूचना प्रकाश रहेको थियो ।
दुईवटा खरिदबाहेक पालिकाले सार्वजनिक खरिद ऐनविपरीत गएर २ असोज ०८२ मा च्याउको बिउको खरिद, २३ असोजमा पर्दा कार्पेट सामग्रीहरू कार्यालयमा रहेका कोठाहरूको फिटिङको काम, २ मंसिरमा पशु सेवा शाखाका लागि औषधि खरिद, ८ मंसिरमा वडा नं. ५ को वडा कार्यालयले महिला स्वयंसेविकाका लागि साइकल खरिद गरेको थियो।
त्यसैगरी पालिकाले १९ मंसिरमा वडा ६ मा न्यानो कपडा ब्ल्यांकेट वितरण गर्न ब्ल्यांकेट खरिद, २६ मंसिरमा वडा ७ को वडाका ज्येष्ठ नागरिक, दलित एकल महिला र अपांगता भएकालाई न्यानो कपडा ब्ल्यांकेट खरिद, २९ मंसिरमा वडा, २ का नागरिकका लागि विद्युतीय किट्ली वितरणका लागि किट्ली खरिद, ८ पुसमा वडाका ३ मा आल्मुनियम फिक्स पार्टेसन कार्यका लागि खरिद, ९ पुसमा कृषि शाखाअन्तर्गत अर्गानिक खेती प्रवर्द्धन कार्यक्रममा लहरे तरकारी बालीको बिउ तथा अन्य कृषि सामग्रीहरू खरिदका लागि सातदिने सिलबन्दी दरभाउको सूचना प्रकाशन गरेको छ ।
९ पुसमा पशु सेवा शाखाअन्तर्गत परजीवी नियन्त्रण कार्यक्रमका लागि औषधि तथा सामग्री खरिद, २५ पुसमा वडा, १० को भित्रमा सडक बत्ती जडान गर्न तथा मर्मत, २० माघमा वडा, ९ वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक, दलित, एकल महिला, एकल महिला पूर्ण अपांगता भएका र आंशिक अपांगता भएका व्यक्तिलाई छाता तथा टर्चलाइट खरिद र १ फागुनमा मुक्त कमैया कमलहरीलाई आयआर्जन कार्यक्रमअन्तर्गत बंगुरको पाठापाठी खरिद गरेको थियो ।
कानुनको पालना गर्नुका साटो पालिकाले सार्वजनिक खरिद ऐनमा रहेको व्यवस्था मिचेर काम गर्दा पनि अन्य अनुगमन गर्नुपर्ने निकाय चुपचाप बसेका छन् । पालिकाले २८ फागुनमा वडा १ मा बसोबास गर्ने गर्ने ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति, एकल महिला, सहिद परिवारमा लागि सुपानेट झुल वितरणका लागि खरिद, ३ चैतमा वडा ७ छाडा कुकुरको बन्ध्याकरण गर्नका लागि खरिद, ३ चैतमा मकैचरी– १ घाँस बिउ वितरण कार्यक्रम ७५ प्रतिशतमा अनुदानमा वितरणका लागि खरिद गर्नका लागि नियमविपरीत सातदिने सिलबन्दी दरभाउको सूचना प्रकाशन गरेको छ ।
३ वैशाख ०८३ मा वडा ४ का युवालाई आत्मनिर्भर र व्यवसायी बनाउनका लागि वडास्तरीय हेयर कटिङ तालिम, ४ वैशाखमा वडा ३ अन्तर्गत पशुहरूलाई खोप लगाउने टेभिजे निर्माणका लागि खरिद, ८ वैशाखमा वडा ८ अन्तर्गत वडा सरकार सामूहिक बिउ उत्पादन कार्यक्रमअन्तर्गत किसानलाई ६० प्रतिशत अनुदान दिनका लागि बिउ र विषादी अन्य सामग्री खरिद र ११ वैशाखमा वडा नं. ६ का किसानलाई ५० प्रतिशत अनुदानमा केराको बेर्ना खरिद गर्नका लागि सातदिने सिलबन्दी दरभाउ सूचना प्रकाशन गरेको छ ।
पालिकाले चालू आर्थिक वर्ष ०८२/८३ मा नियमसम्मत तरिकाले भन्दा बढी नियमविपरीत रहेर खरिद गरेको छ । पालिकाले खरिद गरेको सिलबन्दी दरभाउको सूचना हेर्दा सार्वजनिक खरिद ऐन संशोधन हुनुभन्दा पहिला प्रायः सातदिने सूचना राखेर खरिद गरेको देखिन्छ । जुन सार्वजनिक खरिद ऐन, २०६३ विपरीत रहेको छ । खरिद ऐनले प्रस्ट रूपमा सिलबन्दी सूचना प्रकाशन गर्दा १५ दिनको हुनुपर्ने भनेर व्याख्या गरिएको छ ।