प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्।
उनले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनाले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाउने अवस्था सिर्जना हुनु दुःखद भएको बताए।
पत्रकारहरूसँग कुरा गर्दै आङ्देम्बेले गणेश नेपालीका परिवारले महानगर प्रहरीको प्रताडनाका कारण उनी मानसिक तनावमा रहेको जानकारी दिएको उल्लेख गरे। घटनाबारे अनुसन्धान जारी रहे पनि सत्यतथ्य शीघ्र सार्वजनिक हुनुपर्ने उनको भनाइ छ।
उनले राज्यका निकायले श्रम गरेर जीविकोपार्जन गर्ने मजदुर र स्वरोजगार नागरिकप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिए। काम गरेर खाने वर्गमाथि अनावश्यक दुर्व्यवहार र दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नभएको उनको टिप्पणी थियो।
आङ्देम्बेले गणेश नेपालीले बोल्न सक्दासम्म आफूलाई प्रताडित गरिएको कुरा परिवारलाई सुनाएको दाबी गर्दै त्यसको गम्भीर अनुसन्धान गरी वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। यस्ता घटनाको सत्य उजागर नभए भविष्यमा थप दुःखद अवस्था निम्तिन सक्ने उनको चेतावनी थियो।