कञ्चनपुरका तीन किसानलाई भीमदत्त पुरस्कार

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

कञ्चनपुरका तीन किसानलाई भीमदत्त उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । बेदकोट नगरका एक र कृष्णपुर नगरका दुई किसानलाई भीमदत्त उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो। जिल्लाका तीनै किसानलाई सुदूरपश्चिम प्रदेश सरकारमातहत रहेको कृषि ज्ञान केन्द्रमार्फत भीमदत्त उत्कृष्ट पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख कृषि प्रसार निर्देशक हरिप्रसाद पनेरूले चालू आर्थिक वर्ष ०८२/८३ मा उत्कृष्ट किसान छनाेट गरेर पुरस्कार वितरण गरिएको बताए। निर्देशक पनेरूका अनुसार बेदकोट नगरपालिका– ५, धरमपुरका कलुवा कामी, कृष्णपुर– ४ का सुरेन्द्र चौधरी र पुष्पा कुमारी कलौनीलाई नगद २५ हजारसहित प्रमाणपत्र वितरण गरिएको छ । 

कामी तरकारी खेती, चौधरी केराखेती र कलौनीलाई भैँसीपालन विधामा पुरस्कृत गरिएको छ। प्रदेश सरकारले स्वदेशमै युवाहरूलाई कृषि उद्यम पेसा मर्यादित बनाउने उद्देश्यका साथ कृषिप्रति आकर्षित गराउनका लागि पुरस्कार प्रदान गरिएको निर्देशक पनेरूले बताए। उनका अनुसार कृषिको थप व्यवसायका लागि शुक्रबारै जिल्लाका कृषि प्राविधिकसँग तथ्यांकबारे छलफल गरिएको छ।

छलफलमा जिल्लाभरिको कृषि तथ्यांकबारे छलफल गरेर सोहीअनुरूप कार्यक्रम सञ्चालनदेखि भावी दिनहरूमा उत्कृष्ट किसान छनाेट विधिसमेत परिमार्जन आवश्यक रहेको बताए। पुरस्कृत भएका किसानले समेत परिश्रमको मूल्यांकन भएको बताएका छन्। दुई दशकदेखि व्यावसायिक केराखेती गर्दै आएका कृष्णपुरका किसान सुरेन्द्र चौधरीले पुरस्कृत भएपछि थप व्यावसायिक काममा ऊर्जा थपिदिएको बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पुरस्कृत भएका उत्कृष्ट किसानले निरन्तर काममा खटिनुपर्ने सुझाव दिए । जिसस प्रमुख बोहराले अनुदान लगेर काम नगर्ने प्रवृत्तिले समेत कृषि व्यवसाय फस्टाउन नसकेको दुःख व्यक्त गर्दै अब अनुदानमा थप कडाइ गर्नुपर्नेमा सुझाव दिएका छन्। स्वदेशी वस्तु तथा सेवा उत्पादन गर्दै कृषिमै आत्मनिर्भर हुन आवश्यक रहेको औँल्याए । 

सुझावित समाचार