विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मन्त्रालयमा एक कार्यक्रमबिच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविसमानसिंह प्रधान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङ्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजयकुमार मिश्रले शपथ लिएका हुन् ।
सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो ।