बागलुङ नगरपालिका– १, मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा गरिएको संयुक्त सवारी जाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाइरहेका ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईं तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरसहितको संयुक्त टोलीले सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध सेवन परीक्षण (किट) गरेको थियो। परीक्षणका क्रममा ६ जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका– ४ का ३२ वर्षीय प्रेमबहादुर दर्जी, कुश्मा नगरपालिका– १० का ३५ वर्षीय उत्तम नेपाली, कुश्मा नगरपालिका– ९ का ४५ वर्षीय राजन लामिछाने, बागलुङ नगरपालिका– १ का २२ वर्षीय दिपेश घर्ती क्षेत्री, बागलुङ नगरपालिका– ११ स्थायी घर भई हाल बागलुङ– ३ बस्ने २० वर्षीय दीपक थापा तथा महोत्तरीको जनकपुर नगरपालिका– ८ स्थायी घर भई हाल बागलुङ– १ रामरेखा बस्ने २३ वर्षीय आशिष शाह रहेका छन्।
उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ। यसैबिच, सम्बन्धित सवारीसाधनलाई नियमानुसार जरिवाना गरी धनीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।