समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माणका काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा बिहीबार निर्माण व्यवसायीका प्रतिनिधिसँग छलफल गर्दै प्रभावकारी सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महŒवपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए । छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए । उनीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराए । 

पछिल्लो समय भएको मूल्यवृद्धिलाई लक्षित गरेर ठेक्काको मूल्य समायोजन गर्न, जेन–जी आन्दोलनदेखि मध्यपूर्वको युद्धबाट परेको असरलाई दृष्टिगत गर्दै ठेक्काको म्याद थपसमेत गर्न, ठेकेदारको भुक्तानी पनि समयमै दिन, रुग्ण आयोजनाहरूको व्यवस्थापनका लागि एक उच्चस्तरीय कार्यदल गठन गरी एक महिनाभित्र समस्या समाधानका लागि निर्देशन दिन पनि माग गरिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डेले बताए । छलफलमा निर्माण व्यवसायीले आठ बुँदामा समस्याको अवगत गराउँदै समाधानका लागि आग्रहसमेत गरिएको उनले जानकारी दिए ।

व्यवसायीका मागप्रति प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ : निकोलश पाण्डे, अध्यक्ष, निर्माण व्यवसायी महासंघ 
जेन–जी आन्दोलनदेखि मध्यपूर्वको युद्धबाट परेको असरलाई दृष्टिगत गर्दै ठेक्काको म्याद थप गर्न, मूल्यवृद्धिलाई लक्षित गरेर ठेक्काको मूल्य समायोजन गर्न, ठेकेदारको भुक्तानी पनि समयमै दिन, रुग्ण आयोजनाहरूको व्यवस्थापनका लागि एक उच्चस्तरीय कार्यदल गठन गरी एक महिनाभित्र समस्या समाधानका लागि निर्देशन दिन हामीले प्रधानमन्त्रीज्यूसँग आग्रह गरेका छौँ । निर्माण व्यवसायीको मागका विषयमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । 

सुझावित समाचार