सरकारले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचारसंहिता जारी गरेको हो। अचारसंहितामा उपहार लिन नपाउनेदेखि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरिएको छ।
मन्त्री प्रतिभा रावलले यही १६ असारमा ‘भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ स्वीकृत गरेकी हुन् । आचारसंहिता सोही दिनदेखि नै कार्यान्वयनमा छ। कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित, मर्यादित र सेवामूलक बनाई मन्त्रालयको कार्यसम्पादन र सेवाप्रवाहमा प्रभावकारिता ल्याउन वाञ्छनीय भएको दर्शाउँदै मन्त्रालयले यस्तो आचारसंहिता ल्याएको हो। मूल्य-मान्यता, इमान्दारी, कर्तव्यपरायणता, सदाचारिता, व्यवसायिकता, सामाजिक सञ्जाल प्रयोगका विषयलाई आचारसंहिताले समेटेको छ ।
कर्मचारीले इमान्दार, सदाचार, निष्पक्ष र व्यावसायिकताका साथ उद्देश्यपरक, पारदर्शी एवं जवाफदेही ढंगले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने, सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट, समान तथा समतामूलक र सहयोगी व्यवहार गर्नुपर्ने, आफ्नो व्यावसायिक र निजी जीवनमा अनुकरणीय आचारण प्रदर्शन गर्नुपर्ने, आर्थिक–सामाजिक रूपमा पछि परेका, सीमान्तकृत वर्ग, समुदायका व्यक्तिहरूसँग सेवाप्रवाहको क्रममा विशेष प्राथमिकता तथा ग्राह्यता प्रदान गर्नुपर्नेलगायतका मूल्य र मान्यता कर्मचारीले अपनाउनुपर्ने आचारसंहितामा छ ।
त्यस्तै, कानुनको अपव्याख्या नगरी समान रूपमा कानुनको कार्यान्वयन गर्नुपर्ने, मन्त्रालयमा रहेका गोप्य सूचना कानुनबमोजिम सुरक्षित राख्नुपर्ने, मन्त्रालयको कार्यसँग सम्बद्ध सेवाग्राही र सरोकारवालाहरूलाई सेवा प्रवाहका लागि सहयोगी भावनाका साथ कार्य गर्नुपर्ने, सरकारी सम्पत्ति, सूचना प्रणाली, उपकरण र स्रोतसाधनको दुरुपयोग गर्नु नहुने, व्यक्तिगत लाभ र अरूलाई हानी पुर्याउने उद्देश्यले कुनै कार्य गर्न नहुने, सहकर्मी तथा सेवाग्राहीप्रति उचित, मर्यादित र सम्मानजनक व्यवहार गर्नुपर्नेलगायतका इमान्दारीका मापदण्ड आचारसंहिताले तोकेको छ ।
सरकारप्रति पूर्ण बफादार रही सरकारको नीति निर्माण तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्नुपर्ने, आफूलाई तोकिएको जिम्मेवारी निर्धारित समय, परिमाण र गुणस्तरबमोजिम सम्पन्न गर्नुपर्ने, तोकिएको काम समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने, कुनै पनि प्रकारको अनुचित प्रभाव, दबाब र प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा कार्य गर्नुपर्ने, आफ्नो नाममा रहेको बेरुजु समयमै फर्स्योट गर्नुपर्नेलगायतका कर्तव्यपरायणताका विषय पनि आचारसंहितामा छन्।
कर्मचारीले सार्वजनिक र व्यक्तिक जीवनमा सत्य, निष्ठा र सदाचारपूर्ण व्यवहार गर्नुपर्ने, सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई कामको शिलशिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट गर्न नहुने, कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भई काम गर्नु तथा गराउनु नहुने, आफ्नो पदीय अधिकारको दुरुपयोग गरी व्यक्तिगत, पारिवारिक र संस्थागत लाभ लिन नहुने उल्लेख छ। प्रत्यक्ष रुपमा निजी स्वार्थ जोडिने विषयमा निर्णय गर्न नहुने, नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्दा व्यक्तिगत लाभ लिन नहुने, मन्त्रालयको कामसँग सम्बन्धित कुनै पनि व्यक्ति वा संस्थाबाट सम्बन्धित अधिकारीको स्वीकृतिबिना कुनै पनि प्रकारको उपहार, आतिथ्य स्वीकार गर्न तथा आफूलाई फाइदा पुग्ने कुनै पनि कार्यमा संलग्न हुन नहुने, सकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्यत्र प्रयोग गर्न नहुने लगायतका सदाचारीता आचारसंहितामा छन् ।
व्यवसायिकतातर्फ सेवाग्राहीलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने, आफ्नो जिम्मेवारीमा तोकिएका कार्यहरू समयमै सम्पन्न गर्न प्रतिवद्ध र प्रयत्नशील रहनुपर्ने, निर्णय गर्दा र त्यसको कार्यान्वयनमा ढिलासुस्ती गर्ननहुने, सरकारको नीति, निर्णय तथा कार्यक्रमप्रति आलोचना गर्न, अपमानजनक वा अविश्वास उत्पन्न हुनेगरी सार्वजनिक अभिव्यक्ति दिन नहुने लगायत छन् ।
सामाजिक सञ्जाल र सार्वजनिक सूचना संयन्त्रको प्रयोगबारे पनि आचारसंहितामा व्यवस्था गरिएको छ । त्यसअन्तर्गत नेपाल सरकार वा मन्त्रालयबाट भएका निर्णयको गलत अर्थ लाग्नेगरी भ्रामक सूचना प्रचारप्रसार गर्ननहुने, आफूलाई परेको पीरमर्का वा गुनासो आमसञ्चारमाध्यम वा सामाजिक सञ्जालमा नराखी मन्त्रालयको सुपरीवेक्षक वा गुनासो संयन्त्रसमक्ष प्रस्तुत गर्नुपर्ने, राजनीतिक पूर्वाग्रहयुक्त टिप्पणी गर्न नहुने, कार्यालयको काममा रहेको समयमा, कार्यालय वा परिसरमा वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोशाकमा कार्यालयसँग सम्बन्धित प्रवद्र्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो वा भिडियो सामग्री निर्माण गर्न वा सामाजिक सञ्जालमा राख्न नहुने, कार्यालय समयबाहेक फेसबुक, ट्वीटर, ह्वाट्स एप, लिंकड इन, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउनेगरी व्यवसायिक आचारसंहिताको अधिनमा रही उच्चतम सतर्कता अपनाउनुपर्ने लगायत छन् ।
मन्त्रालयको काममा असर नपर्नेगरी विशेषज्ञताका विषयमा प्रवचन वा परामर्श दिने, अध्ययन अनुसन्धान गर्ने वा स्वीकृति लिई अध्यापन गर्ने वा प्राज्ञिक कार्यमा सहभागी हुने कार्य, मन्त्रालयको काममा असर नपर्नेगरी साहित्य, कला, संस्कृति, खेलकुद तथा सामाजिक संस्थामा सहभागीता जनाउने कार्य, कानुनबमोजिमको पुरस्कार, पदक तथा सम्मान ग्रहण गर्ने लगायतका कार्यलाई आचारण विपरितको कार्य नमानिने आचारसंहितामा छ ।