प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट संशोधनसहित फिर्ता आएका चार विधेयकलाई स्वीकृत गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ मा राष्ट्रिय सभाले गरेको संशोधन अनुमोदन गरेको हो।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकमाथिको संशोधन स्वीकृत गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयकमाथिको राष्ट्रिय सभाको संशोधन पनि सर्वसम्मतिले स्वीकृत गरियो।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी (पहिलो संशोधन) विधेयकमाथिको संशोधन भने बहुमतबाट स्वीकृत भएको छ। छलफलका क्रममा सांसद पार्वती विकले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री रावलले विधेयक कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न व्यापक छलफलपछि ल्याइएको स्पष्ट पारिन्।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको राष्ट्रिय सभाको संशोधन पनि प्रतिनिधिसभाबाट सर्वसम्मतिले अनुमोदन गरिएको छ।